जनमोर्चाका सांसद शाही बेपत्ता, शाही नआए गण्डकी सरकार जोगिने संकेत

पोखरा– नेकपा एमाले नेतृत्वका गण्डकी सरकार ढल्ने बताइरहेका बेला राष्ट्रिय जनमोर्चाका एक सांसद एकाएक बेपत्ता भएका छ । गण्डकी प्रदेशसभाको जारी वैठकमा जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएका हुन् ।

कांग्रेस–माओवादी सहितका दलले पेस गरेको अविश्वास प्रस्तावमा अन्तिम छलफल र मतदानका दिन जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका हुन् । उनको फोन पनि स्वीचअफ छ । त्यसैगरी, स्वतनत्र सांसद दिपक मनाङे पनि अनुपस्थित छन् ।
स्रोतका अनुसार कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चा सांसद पियारी थापा र जसपाका सांसद धनमाया लामाले गाडी लिएर शाहीलाई खोज्न हिँडे पनि भेटिएन ।

अविश्वास प्रस्तावमा जनमोर्चाको समर्थन थियो । जनमोर्चाका सांसद शाही अनुपस्थित भए मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको मत पुग्दैन ।

अविश्वास प्रस्ताव पारित हुन ६० सदस्यीय प्रदेशसभामा ३१ मत चाहिन्छ । कांग्रेसको १५ र माओवादीको ११ सांसदसहित २६ जना छन् । जसपाका २ जना छन् । शाही अनुपस्थित भए जनमोर्चाका दुवैजनाले मत दिए पनि अविश्वास प्रस्ताव पारित हुँदैन । प्रदेश सभामा माधव नेपाल पक्षधर सांसद इन्द्रलाल सापकोटा छन् । उनले फ्लोर क्रस गरे भनेमात्र सरकारको विक्षमा मत पुग्छ ।

प्रतिक्रिया