काठमाडौं—कोरोना संक्रमितको संख्या एकाएक बढेपछि उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिएको छ । त्यसका आधारमा उपत्यकामा निषेधाज्ञा लगाउने तयारी छ ।
योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् । त्यसका लागि आज सोमबार तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछन् ।
काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् । अघिल्लो वर्ष पनि उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेको थियो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार ‘सीसीएमसीको सिफारिश बमोजिम तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर छलफल गरेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि स्थिति नियन्त्रणबाट बाहिर जानसक्ने देखिएकाले आज छलफल गरेर निर्णयमा पुग्ने बताए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा कोरोनाभाइरस महामारीको अवस्था जटिल बन्दै गएकाले अब कडाइ गर्नुको विकल्प नभएको बताए ।