काठमाडौं कोरोना संक्रमण उच्च गतिमा फैलिए पछि चिकित्सकले लकडाउन गर्न सुझाव दिएका छन् । उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शैया भरिएर उपचार गर्न हम्मे भए पछि चिकित्सकले यस्तो सुझाव दिएका हुन् ।
राजधानीका मुख्य मुख्य कोभिड अस्पतालहरू भरिएपछि बिरामी व्यवस्थापन गर्न हम्मे परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक लागू गर्न, गराउन आदेश दिए पनि पूर्ण रूपमा पालना हुन नसकेकाले स्थिति गम्भीर बन्दै गएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । मापदण्ड पालना हुन नसकेपछि अर्को कदम चाल्नुपर्ने स्थिति आइसकेको उनले बताए । ‘स्थिति गम्भीर छ, जनस्वास्थ्य मापदण्ड पालना नभएमा गाह्रो छ’, उपत्यकामा लकडाउनसमेत गर्नुपर्ने अवस्था आइसकेको छ ।
कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शैया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शैया भरिभराउ भएको जनाएको छ।
अस्पतालमा तीन÷चार दिनदेखि नै आइसियु र अन्य शैया भरिभराउ भइसकेको अस्पतालका कोभिड उपचार संयोजक तथा प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए ।
वीर अस्पतालले पनि कोभिडका बिरामीको उपचारका लागि छुट्याइएका शैया भरिन थालेको जनाएको छ । वीर अस्पतालमा १० वटा आइसियु र ६२ वटा शयया कोभिडका बिरामीको उपचारका लागि छुट्याइएको छ । सबै शयया भरिएपछि थप्ने तयारी भइरहेको अस्पतालका कोभिड १९ उपचार सम्पर्क चिकित्सक अच्युत कार्कीले बताए ।
त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पनि तीन÷चार दिनदेखि कोभिड शयया भरिभराउ छन्। बिरामी भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयसँगै समन्वय गरेर अन्यत्र पठाइरहेको अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाले बताए । यो अस्पतालमा कोभिड उपचारका लागि ११ वटा आइसियुसहित ६० शययाको व्यवस्था गरिएको छ। बिरामी बढेपछि शयया थप्ने तयारी भइरहेको जानकारी थपलियाले दिए ।
दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको उनीहरूले औंल्याएका छन ्। सरकारले उपचारका लागि सैया बिस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौती हुने स्थिति रहेको वीर अस्पतालले जनाएको छ । ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा.पाण्डेले भने ।
तीव्र संक्रमण नियन्त्रण गर्न अति आवश्यकबाहेक अन्य सेवा बन्द गर्नुपर्ने सुझाव त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक थपलियाको छ ।