काठमाण्डौ । एननआईसी एशिया लघुवित्त वित्तीयले आफ्नो तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको सम्पुर्ण सूचकमा अत्यन्तै राम्रो सुधार भएको देखिएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४७।९३ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४२।९४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा २२०।१८ प्रतिशत बढेको छ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ। लघुवित्तको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १६ रुपैयाँ ४६ पैसा बढेर ३२ रुपैयाँ ७५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५१।८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७२ पैसा रहेको छ।
कर्जा लगानीसँगै लघुवित्तको निष्क्रिय कर्जा पनि बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ०।३२ प्रतिशत रहेको लघुवित्तको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १।४९ प्रतिशत पुगेको छ।