काठमाण्डौ । पछिल्लो समय नेपालीहरूको आकर्षक गन्तव्यमा पर्छ जापान । जापान भने जस्तो र सोचे जस्तो काम गर्न सजिलो भने छैन । सपनाको जापान र वास्तविक जापानमा धेरै फरक भएको कुरा धेरै नेपालीको भनाइ छ ।
यस्तै नेपालीहरूले जापानमा भोग्नु परेको भोगाइ र पीडालाई कलाकारहरूले गीत मार्फत सार्वजनिक गरेका छन । गीतमा भएका कलाकार अधिकांश जापान मै आफूले पनि दुख गरेका र दुख भोगेका समेत छन । गीतलाई प्रेम सापकोटाले आवाज दिएका छन् उनी समेत विगत लामो समय देखि जापान मै छन । त्यस्तै विगत एक दशक भन्दा लामो समय जापानमा रहेका सर्जक दीपक कँडेलले सिर्जना गरेको सो गीतमा उनले आफूले त्यहाँ पीडा भोगेको अवगत गराउँदै लहै लहैमा जापान नआउने सन्देश दिएका छन । गीतलाई गणेश अधिकारीले लय सिर्जना गरेका छन ।
कँडेलको उत्कृष्ट शब्द मात्र होइन वास्तविक लाग्ने अभिनय समेत गरेका छन । उनलाई अभिनयमा सञ्चारकर्मी कृष्ण आचार्य,विक्रम कुमार पौड्याल,सुरेन्द्र केसी,एलिशा बास्तोला र कुल सुवेदीले साथ दिएका छन । मोडल तथा सर्जक दीपक कँडेलले कतिपय गीत व्यवसायिक सफलताको लागि गरिए पनि कतिपय गीत आफ्नो देखाई र भोगाइलाई व्यक्त गर्न बनाएको बताउँदै आफ्नो पछिल्लो गीत व्यवसायिक भन्दा पनि सन्देशमूलक भएको बताउनु भयो ।
पछिल्लो समयका चर्चित निर्देशक जेरी भण्डारीले गीतलाई नेपालमै भए पनि जापानको झल्को दिने गरि निर्देशन गरेका छन । गीतलाई दीपिका म्युजिकले बजार व्यवस्थापन गरेको छ ।