काठमाडौं–किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब १३ लाख कित्ता एफपिओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
किसान लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी एक अर्ब, जारी पूँजी ५२ करोड २६ लाख र चुक्तापूँजी ३९ करोड २८ लाख रुपैयाँ छ । चुक्तापूँजी बढाउनका लागि एफपिओ निष्कासन गर्न लागिएको हो । एफपिओ जारी गरेपछि संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख हुनेछ ।
किसान लघुवित्त वित्तीय संस्था (साविकको एनआरएन) कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ सालमा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको संस्था हो ।
धनगढी २, बैहाबेहडी कैलाली केन्द्रीय कार्यालय र बुढानिलकण्ठ ८ मण्डिखाटार, काठमाण्डौमा कर्पोरेट कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै किसान माइक्रोफाइनान्स, रामारोशन, क्रिएटिभ र दिव्य लघुवित्त मर्ज गरि आफ्नो कार्यक्षेत्र ४६ जिल्लामा विस्तार गरिसकेको छ । १ अर्ब ७ करोड २५ लाख रुपैयाँ बचत ५ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी रहेको संस्थाका एक सय ३६ शाखा रहेका छ ।