केयुकेएलले आईपीओ जारी गर्ने

काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले प्राथमिक शेयर(आईपीओ) जारी गर्ने तयारी गरेको छ ।
पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ मिलन शाक्यले भविष्यमा जनताका लागि पनि केयूकेएलको सेयर जारी गर्ने घोषणा गरे ।

काठमाडौंमा पानी आएपछि केयूकेएलले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि योजना अघि बढाउने उनले बताए । गएका तीन आर्थिक वर्षको लेखा परीक्षण गर्दै गरेको कम्पनी लगातार नाफामा देखिए अर्को आर्थिक वर्षमा नै सेयर जारी गर्न पाउने उनको दाबी छ । काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु भएसँगै आफ्नो वित्तीय अवस्था सुध्रिने दाबी केयूकेएलको छ ।कम्पनीको प्रबन्धपत्र अनुसार १ अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत सेयर हिस्सा छ ।

नेपाल चेम्बर अफ कमर्ससहित ४ वटा निजी क्षेत्रका संस्थाहरूको १२ प्रतिशत सेयर हिस्सा छ । केयूकेएलका कर्मचरीको ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर हिस्सा छुट्याइएको छ । बाँकी १५ प्रतिशत सेयर भने सर्वसाधारणलाई दिने प्रबन्धपत्रमा व्यवस्था छ । केयूकेएलले वर्षमा ९५ करोड बराबरको पानी वितरण गर्ने गर्दछ । तर, ८० करोड मात्रै शुल्क नियमित उठ्ने गरेको छ । १० हजार लिटरसम्म पानी उपयोग गर्दा १५० रुपैयाँ मात्रै शुल्क लिइरहेका कारण मेलम्चीको पानी आएपछि शुल्क परिवर्तन नगर्ने हो भने सञ्चालन खर्च उठाएर नाफामा लैजान नसकिने शाक्यको भनाइ छ ।
मेलम्चीबाट दैनिक आउने थप १७ करोड लिटर पानी वितरणको उचित व्यवस्थापन गर्दै कम्पनीलाई नाफासहित थप पारदर्शी र उत्तरदायी बनाउने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया