काठमाडौं–अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर जारी गर्ने विषयमा सूचना चुहाएर चलखेल गरेको आशंका भएको छ । अजोड इन्स्योरेन्सको सोमबार (हिजो) सकारात्मक सर्किट लागेको थियो । शेयर लगानीकर्ता अजोडको शेयर खरिदमा आकर्षित थिए । समग्रमा बजार घट्दा समेत अजोडको सोमबार पोजिटिभ सर्किट लेभलमा सेयर कारोबार भएको थियो । सेयर मूल्य आकासिएको भोलिपल्टै ५० प्रतिशत हकप्रद घोषणा गरिएपछि अजोडको सोमबार भएको कारोबारलाई शंकास्पद रुपमा हेरिएको छ ।
सेयरमूल्यमा एकाएक उछाल आउनुको पछाडि आधिकारिक रुपमा कुनै सकारात्मक सूचना सार्वजनिक भएको बुझाई छ । अजोडले मंगलबार ५० प्रतिशत हकप्रद निष्कासनको अजेन्डा आफ्नो वार्षिक साधारणसभाबाट पारित गर्ने सूचना सार्वजनिक गरेको छ । यो सूचना चुहिएकाले लगानीकर्ताले एकाएक शेयर किनेका हुन् । शेयरमा इन्साइडर ट्रेडिङ भएको दाबी आरोप लागेको छ । कम्पनीकै उच्च पदस्थ कर्मचारी तथा सञ्चालकहरुले हिजोको कारोबारमा इन्साइडर ट्रेडिङ गराएको भन्दै लगानीकर्ताहरुबाटै व्यापक विरोध गरेका छन् ।
इन्साइडर ट्रेडिङ गराउनु गैरकानुनी मानिन्छ । तर नेपालको सेयर बजारमा खुलेआम यस्ता गतिविधि भइरहेका छन् । धितोपत्र कारोबार नियमावलीअनुसार कुनै पनि कम्पनीको मूल्यमा प्रभाव पार्ने सूचना अधिकारिक रुपमा त्यस्ता कम्पनीले कारोबार समयअघि पठाउनुपर्छ । वार्षिक साधारणसभाबाट सूचना प्रकाशित हुनुअगावै बजारमा ५० प्रतिशत हकप्रद आउन लागेको भन्दै सूचना चुहाएको स्रोतको दाबी छ । यही कारण हिजो यो कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेको स्रोतको दाबी छ ।
अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्रीले कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको विषयमा कुनै सत्यता नभएको दाबी गरे । अजोडको विषयमा नेपाल स्टक एक्सचेन्जले आफ्नो ध्यानाकर्षण भएको बताएको छ