हब कोअपरेटिभले सुरु गरेको डिजिटल सेवा प्रशंसनीय–गर्भनर अधिकारी

काठमाडौं– हब कोपरेटिभ सर्भिस लिमिटेडले सुरु गरेको डिजिटल सेवाको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले प्रशंसा गरेका छन् । हब कोपरेटिभ सर्भिस लिमिटेडका पदाधिकारीले हबले दिने सेवाको बारेमा जानकारी गराए पछि गर्भनर अधिकारीले सहकारीलाई डिजिटाइज गर्नु आवश्यक रहेको भन्दै हबले समय सापेक्ष रुपमा सहकारीका लागि आवश्यक सेवा सुरु गरेको बताए । ‘सहकारीलाई डिजिटाइज गर्नुप¥यो,’ गर्भनर अधिकारीले भने, ‘हबले सुरु गरेको सहकारीमा डिजिटाइज गर्ने काम आवश्यक छ ।’

गर्भनर अधिकारीले सहकारीमा ठूलो नगद भएकाले डिजिटल प्ल्याटफर्मको प्रयोग गरेर कारोबार गर्न आग्रह गरे । सहकारीले आफ्ना सदस्यलाई डिजिटल सेवा दिन सक्ने बताए । ‘अनुमति प्राप्त प्ल्याटफर्मसँग सम्झौता गरेर सहकारीले आफ्नो सेवा दिन सक्छ,’ उनले भने, ‘आवश्यक सहजीकरण गर्न राष्ट्र बैंक तयार छ ।’

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष तथा हब कोपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले गर्भनर अधिकारीलाई भेटेर सहकारीलाई प्रविधि मैत्री बनाउन राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने बताएका थिए । सहकारी विभागबाट अनुमति लिएर सहकारी क्षेत्रमा डिजिटल प्रविधि मार्फत वित्तीय सेवा दिन सुरु गरेको हब कोपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष पौडेलले जाकारी गराए । हबले सहकारी क्षेत्रमा डिजिटल प्रविधि मार्फत वित्तीय कारोबार सुरु गरेको बताए । ‘सहकारी विभागबाट अनुमति लिएर राष्ट्र बैंकको सहमतिका लागि आवेदन दिएका छौं,’ पौडेलले भने, ‘भुक्तानी सेवा प्रदायक निकायसँग समन्वय गरी काम अघि बढेको छ ।’

सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५मा भएको व्यवस्था अनुसार विद्युतीय प्रणालीमार्फत हबले आफ्ना सदस्यलाई एक सहकारीबाट अर्को सहकारीमा अन्तर सहकारी कारोबार सुरु गरेको अध्यक्ष पौडेलले जानकारी दिए । हबले सदस्य सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्ने गरी अन्तर सहकारी कारोबार गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । सहकारीलाई बैंक तथा अन्य वित्तीय संस्था जस्तै प्रभावकारी, व्यवस्थित र छिटो–छरितो सेवा दिन विद्युतीय कारोबार सुरु गरेको हबले जनाएको छ । सहकारी नियमावलीमा सहकारी संस्थाले विनियमावलीमा व्यवस्था गरी अन्तरसहकारी कारोबार गर्न सक्ने प्रावधानलाई व्यवस्थित गरेको छ ।

सहकारी विभागबाट विनियम स्वीकृत गरेर देशभर कार्यक्षेत्र रहेको दब कोअपरेटिभले मुलुकै पहिलोपटक विद्युतीय भुक्तानीसहितको नयाँ सेवा दिन सुरु गरेको छ । अधिकांश सहकारी संस्थाहरु म्यानुअल पद्धतिमा सञ्चालन भइरहेको अवस्थामा हबका सदस्यलाई डिजिटल प्रविधि प्रयोग गरेर अन्तरसहकारी कारोबार सुरु गरेको हब कोओपरेटिभले जनाएको छ ।

प्रतिक्रिया