काठमाडाैं - आजदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदैछ। मेलम्चीका संघर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा मेलम्चीको पानी काठमाडौँ पठाउने सहमति भएको हो।
खानेपानीमन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची पुगेर संघर्ष समिति र स्थानीय सरोकारवाला पक्षसँग वार्ता गरेका थिए। दसैँअघि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादव र उनको टोली सोमवार मेलम्ची पुगेको थियो।
सो वार्तामा संघर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गर्ने सहमति भएपछि मेलम्चीको पानी काठमाडौँमा ल्याउन सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिएका छन्।
लामिछानेका अनुसार मेलम्चीबाट भोलिदेखि सुन्दरीजलमा पानी पथान्तरण गरिने छ। उनले भने, ‘संघर्ष समितिसँग सहमति भएको छ, अब मेलम्चीको पानी काठमाडौँ ल्याइनेछ।’
सहमति अनुसार आयोजना पुनःनिर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पठाइने छ। अब तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने पहल खानेपानी मन्त्रालयले गर्नेछ।
सोमवारदेखि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ उपत्यकामा पानी पथान्तरण गर्न मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिएका छन्।