साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ तर कारोबार रकममा भने सामान्य बृद्धि देखिएको छ।
आइतबार नेप्से सूचक ५१.२३ अंकले घटेर २४०७.२५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १०.१० अंकले घटेर ४३२.१३ विन्दुमा झरेको छ।
आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि बढेको छ। अघिल्लो दिन बुधबार ४ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आइतबार कारोबार रकम झण्डै ५ अर्ब पुगेको छ। आइतबार २११ वटा कम्पनीको ९९ लाख ३ हजार ४०४ कित्ता शेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको छ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।
यस दिन हाइड्रोपावर कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दा उक्त उपसमूहको सूचक २.३२ प्रतिशतले बढेको छ भने चन्द्रागिरि हिल्सको शेयरमूल्य बढ्दा होटल एण्ड टुरिजम उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ।