किसान लघुवित्तको १३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं–पुँजी बजारमा लगानीकर्ता बढिरहेका बेला लघुवित्त कम्पनीको शेयर बिक्रीमा आउने भएको छ । किसान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब १३ लाख कित्ता एफपीओ बिक्री गर्ने भएको छ । सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये बाँकी रहेको १२ लाख ९८ हजार २५९ कित्ता सेयर एफपीओ जारी गरेर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
१० करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी पु¥याएको लघुवित्तको नेप्सेमा ३९ लाख २८ हजार कित्ता सेयर मात्रै सूचीकृत छ ।
यस अघि कम्पनीले सर्वसाधारणतर्फ १५ लाख ७१ हजार कित्ता सेयर जारी गरेकोमा थप करिब १३ लाख कित्ता सेयर एफपीओमार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत छ। संस्थापकतर्फ २३ लाख ५६ हजार कित्ता शेयर रहेको छ ।
कम्पनीको सेयर दोस्रो बजारमा प्रति कित्ता १५०० रुपैयाँ किनबेच भइरहेको छ । पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ६६९ रुपैयाँदेखि १८९५ रुपैयाँसम्म पुगेको थियो ।
यस अघि एफपीओ जारी गरेका केही लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँमै पनि सेयर बिक्री गरेका थिए । एफपीओ जारी गर्दा प्रिमियमसहित जारी गर्न पाउने भए पनि कम्पनीले कति रुपैयाँमा सेयर बिक्री गर्ने भन्ने कुरा खुलाइसकेको छैन ।
कम्पनीले एफपीओ बिक्री गर्न मर्चेन्ट कम्पनीको खोजी सुरु गरिसकेको छ ।

प्रतिक्रिया