काठमाण्डौं–शेयर खरिद गर्ने योजनामा हुनुहुन्छ ? नागरिक लगानी कोषले साढे तीन लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । कोषले अवितरित हकप्रद सेयर भोलि फागुन २१ गतेबाट लिलामीबाट बेच्ने भएको छ ।
कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद निष्कासन गरेको थियो । त्यसमा आवेदन नपरेका कुल ३ लाख ५४ हजार एक सय ५० कित्ता शेयर कोषले लिलामीमार्फत बेच्न लागेको हो ।
लिलामीको शेयर इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने छन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले काठमाण्डौको टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, रुपन्देही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर र महेन्द्रनगरबाट तथा नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर तथा पोखराबाट आवेदन दिन सक्नेछन् ।
चैत २ गतेसम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ । धितोपत्र दोस्रो बजारमा कोषको बुधबार अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४ हजार ३२९ रुपैयाँ रहेको छ।