काठमाडौं–सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टको रेटिङ भएको छ ।
बुक बिल्डिङ प्रणालीबाट सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्ट नेगेटिभ वाचलिष्टबाट हटेको छ । रेटिङ ऐजेन्सी इक्रा नेपालले सर्वोत्तम नेगेटिभ लिष्टबाट हटाएको हो ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीबाट ६० लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको जनाएको छ ।
सर्वोत्तम सिमेन्टले नेगेटिभ लिष्टमा पर्दा आठ अर्ब ५० करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको थियो । अहिले ६ अर्ब ३५ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । इक्राले नेगेटिभ लिष्टबाट हटाउदै बीबीबी प्लस रेटिङ दिएको हो ।
क्लिङकर सहितको सर्वोत्तम सिमेन्ट नेपालको ठूलो सिमेन्ट उद्योगमा पर्छ ।
जसमा व्यवसायिक घराना सौरभ समूहको ६२ प्रतिशत लगानी छ । सौरभ ग्रुपको सिमेन्ट उद्योगमा २० वर्षको अनुभव छ । जगदम्बा ब्राण्डको सिमेन्टमा पनि सौरभ ग्रुपको मुख्य लगानी रहेको छ । सर्वोत्तम सिमेन्टले गतवर्ष ७ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको थियो ।