नेपाली कामदारलाई कोरिया जाने बाटो खुल्यो

काठमाण्डौ – कोरोना संक्रमणका कारण रोकिएको कोरियाको रोजगारी ‘प्रतिबद्ध कामदार’ (कमिटेड वर्कर) लाई पहिलो प्राथमिकतामा राखेर सुचारु गरिने भएको छ ।

कोरियाका रोजगारदाताले पुनः प्रवेश अनुमति दिएका यस्ता श्रमिक दक्ष र अनुभवी भएका कारण पहिलो प्राथमिकतामा राखिएको हो । कोरियामा श्रमिक आपूर्ति गर्दै आएका नेपालसहित १६ देशको संक्रमण अवस्थालाई हेरेर कोरिया सरकारले रोजगारी सुचारु गर्ने जनाइरहेका बेला पहिलो प्राथमिकतामा यस्ता कामदारलाई राखिने भएको हो ।

एचआरडी कोरिया र नेपालका प्रतिनिधिबीच पटक–पटक भएको छलफलमा कोरिया प्रवेश गराउने मोडालिटी, परीक्षालगायतका विषयमा समेत छलफल भएको छ । रोजगारदाता परिवर्तन नगरी नियमित पाँच वर्षसम्म एउटै रोजगारदाताकोमा काम गर्नेलाई प्रतिबद्ध कामदारका रूपमा लिइन्छ ।

कोरियन पक्षले कुन मितिमा नेपाली श्रमिक लैजानेबारे जानकारी नदिए पनि पहिलो चरणमा भिसा लागेर जाने तयारीमा रहेका प्रतिबद्ध कामदार र त्यसपछि नयाँ श्रमिकलाई लैजाने अनौपचारिक जानकारी दिएको छ ।

हाल नेपालबाट कोरिया प्रवेशको प्रतीक्षामा लगभग १ हजार ६ सय प्रतिबद्ध कामदार रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाका प्रमुख इन्द्र गौतमले जानकारी दिए । (आजको कारोबार दैनिकबाट)

प्रतिक्रिया