काठमाडौं–नेपालको पुँजी बजारमा लगानीकर्तालाई एकपछि अर्को अवसर थपिरहेका छन् । पुँजी बजारको आकार दिनानुदिन बढिरहेको छ ।
नागरिक लगानी कोषले साढे ३ लाख कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । कोषले फागुन २१ गतेदेखि सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो । सो शेयर खरिदका लागि इच्छुक सर्वसाधारणले चैत २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने कोषको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म एक बराबर ०।८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सोमध्ये बिक्री नभएको साढे ३ लाख कित्ता शेयर कोषले लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको जनाएको छ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै, राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बागलुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौँडा, तुल्सीपुर र महेन्द्रनगर शाखा कार्यालय तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ बानेश्वर तथा विराटनगर र पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।