काठमाण्डौ । लकडाउनपछि खुलेको नेपाली शेयर बजारमा प्रविधि मात्र बढेको छैन शेयर बजारमा प्रवेश गर्ने नवप्रवेशीहरुको समेत संख्या निकै बढेको छ ।
पछिल्लो समय आएको आँकडाले नेपालमा अनलाईन प्रविधिबाट सक्रिय रुपमा कारोबार गर्नेको संख्या पाँच लाख माथि पुगेको छ । नेप्सेका अनुसार फागुन ९ गतेसम्ममा दोस्रो बजारमा अनलाइन कारोबारका लागि युजर आइडि तथा पासवर्ड लिने लगानीकर्ताको संख्या ५ लाख ५० हजार ४०९ पुगेको छ । जसमध्ये १ लाख ९५ हजार ९८९ जना अनलाइन मार्फत सक्रिय कारोबारमा संलग्न हुने गरेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार अहिले शेयर बजारमा अनलाइन तथा अफलाइन मार्फत ३ लाख ७६ हजार २६१ जना सक्रिय लगानीकर्ता रहेका छन् ।
पछिल्लो चरणमा प्राथमिक बजारमा १५ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेका छन् भने डिम्याट खाताको संख्या नै झण्डै २८ लाख पुगिसकेको छ ।
लकडाउनपछि नियामक निकायले अनलाइन कारोबारलाई प्रोत्साहन गर्न थालेपछि दोस्रो बजारमा अनलाइन मार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या समेत निरन्तर बढ्न थालेको हो ।