विश्व रेडियो दिवसको पुर्वसन्ध्यामा विज्ञहरु र सञ्चारमन्त्रीविच छलफल कार्यक्रम

काठमाण्डौ – ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल र एन्टेना फाउण्डेशन नेपालको आयोजनामा एक कार्यक्रमकाबीच १०औं विश्व रेडियो दिवस मनाइएको छ । दिवसको पूर्वसन्ध्यामा आज ललितपुरमा आयोजित कार्यक्रममा माननीय सूचना तथा सञ्चार प्रबिधि मन्त्री पार्वत गुरुङले नीतिगत रुपमा सम्बन्धित संस्थाहरुसँग छलफल गरी स्वतन्त्र रेडियोहरुको हक हितका लागि आवश्यक कार्य गरिने बताउनु भयो । वहाँले कोरोना महामारीको बेला रेडियोले नागरिकको सूसुचित हुने हकको सम्मान गरेकोमा सबै रेडियोलाइ धन्यवाद दिदै सबै रेडियोकर्मी तथा पत्रकार सम्मानको हकदार रहेको कुरा पनि बताउनु भयो। साथै रेडियोले सञ्चारको व्यवसायिक धर्म पालना गरि स्वतन्त्र जिम्मेवार र परिपक्क ढंगले समाचार उत्पादन तथा प्रशारणका लागि आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल वानका अध्यक्ष चन्द्र न्यौपानेले विपदमा बेला रेडियोले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो। न्यौपानेका अनुसार कोरोना महामारीको बेला रेडियोका श्रोता बढ्नु रेडियोकर्मीका लागि अवसर रहेको र त्यसको भरपुर उपयोग गरिएको कुरा प्रष्ट पार्नु भयो। सो कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ एकोरावका अध्यक्ष सुवास खतिवडाले कोरोना कालमा रेडियोको आर्थिक क्षमता कमजोर भएपनि कार्यक्रमहरु र उपयोगि जानकारी दिएर नागरिकलाइ सुसूचित र स्वस्थ बनाउनका लागि रेडियोले महत्वपुर्ण काम गरेको स्मरण गर्दै राज्यले समानुपातिक बिज्ञापन तथा सहुलियतमा रेडियो सञ्चालन हुने वातावरण बनाउन आग्रह गर्नुभयो।

अमार्क एशिया प्यासेफिकका क्षेत्रीय संयोजक सुमन बस्नेतले सरकारले तत्काल फ्रिक्वेन्सी व्यवस्थापनमा काम गर्नुपर्ने कुरामा मन्त्रिको ध्यानाकर्षण गराउनु भयो । राज्यले इन्टरनेट तथा नागरिकको हातहातमा पुग्ने सञ्चार माध्यममाथि नीतिगत रुपमा कडाइ गर्न नहुने कुरा समेत उल्लेख गर्नु भयो। कार्यक्रममा बोल्दै द स्टोरी किचनका अध्यक्ष जया लुइटेलले महिला र लैंगिक रुपमा अल्पसंख्यकको आवाज मुखरित हुने गरी रेडियो तथा सञ्चार कार्यक्रम निर्माणमा सरकार र रेडियोकर्मीको ध्यानाकर्षण गराउनु भयो ।

सभामा उपस्थित सबै अतिथिहरुलाई स्वागत गर्दै वानका महासचिव दुर्गा अधिकारीले विपदको बेलमा रेडियोले दिने सूचना तत्कालका लागि राहत तथा औषध उपचार भन्दा महत्वपुर्ण हुने भएकोले रेडियोको महत्व दिनप्रतिदिन बढ्दै गएको कुरा औल्याउनु भयो। धन्यवाद दिदै एन्टेना फाउण्डेशन नेपालका अध्यक्ष मधु आचार्यले सूचना प्रविधिकको भरपुर उपयोग गर्दै रेडियोलाई परिस्कृत बनाउन सकिने भएकोले सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो। छलफल कार्यक्रम एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाइले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया