धनगढी । परिवारिक अनैतिक सम्बन्ध सबैले थाहा पाउने भएपछि देवर भाउजुले रुखमा झुन्डिएर आत्महत्या गरेका छन । घटना हो डडेल्धुराको ।
डडेल्धुराको आलितालको वडा नम्बर ३ र ५ को सिमाना रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव एकै रूखमा झुन्डिएको अवस्थामा फेला प¥यो । पशुपतिका श्रीमान् रबिन विक रोजगारीको सिलसिलामा भारत गएका थिए । त्यही समयबाट उनको सम्बन्ध देवर गणेश विकसँग रहन गयो । त्यो कुरा एक कान दुई कान हुँदै गाउँभरि फैलियो ।
डडेल्धुराको सानो गाउँ भावरमा बस्ने उनीहरूको सम्बन्ध श्रीमान्ले पनि थाहा पाए । आलिताल गाउँपालिका–५ मा भावरका गाउँलेले त्यो कुरा मिलाउन प्रयास गरे । करिब दुई महिनाअघि श्रीमान् पनि गाउँ फर्किसकेको अवस्थामा वडा सदस्यको रोहबरमा देवर–भाउजूले आफ्नो अनैतिक सम्बन्ध त्याग्ने सम्झौता गरेका थिए । अब आइन्दा सम्बन्ध नराख्ने भनेर कागज नै भएको एक वडासदस्यले बताए । तर, सजिलै सम्बन्ध त्याग्न नसकेपछि देवर गणेशले आफूहरूको सम्बन्ध जोगाइदिन भन्दै प्रहरी चौकी आलिताललाई समेत गुहारेका थिए ।
त्यो प्रयास असफल भएपछि आइतबार राति पशुपति र गणेश विक गाउँबाट भागेका थिए । त्यसपछि पति रबिनले उनीहरूको खोजी गरिदिन सोमबार बिहानै प्रहरीमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा उनीहरूको शव वडा नम्बर ३ र ५ को सिमाना रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनको एउटा रूखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनीहरू रूखमा प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए ।
पोस्टमार्टम रिपोर्टपछि मात्रै उक्त घटनाबारे विस्तृत विवरण खुल्ने डडेल्धुरा प्रहरीले जनाएको छ ।