काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले ग्याससहित पेट्रोल, डिजेलको भाउ बढाएको छ । खाना पकाउने ग्यास सिलिन्डरमा २५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टितेल लिटरमा दुई रुपैयाँ बढाएको छ । मूल्य बढेपछि एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । त्यसैगरी, पेट्रोलको मूल्य लिटरको एक सय १२, डिजेल मट्टितेलको मूल्य लिटरको ९५ रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । बृद्धि भएको मूल्य बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएकाले भाउ बढाउनु परेको निगमको दाबी छ । मूल्य वृद्धि गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको जनाएको छ । १५ दिनमा ७३.८७ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।