आन्दोलन सफल भए सँगै शेयरबजारमा हरियाली

काठमाडौं - केही दिनदेखि निरन्तर चलिरहेको लगानीकर्ताहरूको आन्दोलन सफल भएको छ । माग पुरा गर्ने सहमति भएसँगै १० दिनदेखि आमरण अनसन बसिरहेका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।

बजार विकास र विस्तारका लागि अब चाहीँ केही होला भन्ने माहोल देखिएपछि लगानीकर्ताहरूबीच छुट्टै उत्साह छाएको छ । जुन कुरा आजको बजारले समेत देखाउँछ । शुक्रबार हुने २ घण्टाको कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि हिजो अस्ति दिनभरको तुलनामै भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा पुगेकाे छ । नेप्से ०.७५ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.८१ अंकले बढेर ३६४.९० विन्दुमा पुगेको छ । 

कूल २२३ वटा कम्पनीकाे ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

प्रतिक्रिया