काठमाडौं – बहुचर्चित निर्मला पन्त हत्याकाण्डको रहस्य नखुल्दै सुदुरपश्चिमको बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।
जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमले भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कार भएको चिकित्सकहरुको भनाई उधृत गर्दै प्रहरीले जनाएको छ । पोष्टमार्टममा उनले प्रतिकार गरेको र प्रतिकारको क्रममा उनको टाउको र हातमा चोट लागेको उल्लेख छ ।
त्यसैगरी उनको घाँटीमा निलडाम र योनाङ्गमा घाउ रहेको पाइएको प्रहरीले जनाएको छ । १२ कक्षामा अध्ययनरत किशोरी भट्ट बुधवार हराएपछि परिवारले खोजतलास गरेको थियो । उनका शव मुख्य सडकभन्दा ५०० मिटर टाढा भेटिएको थियो ।