भागरथीको हत्या आरोपमा ६ जना पक्राउ

धनगढी – सबैले चासोको रुपमा हेरेको बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्‍न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरिएको छ ।

उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । बलात्कारपछि किशोरीको हत्या गरिएको आशंकामा शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएको र ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारीसमेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तीव्र बनाएको सुदूरपश्चिम प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

मृतक भट्टको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको र परीक्षणपछि धेरै कुरा खुल्ने प्रहरीले विश्वास गरेको छ । बुधबारदेखि वेपत्ता दोगडाकेदार गाउँपालिका–७ की भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।

सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भट्ट विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन् । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ ।

प्रतिक्रिया