काठमाडौं– नेपाल आयल निगमले पेट्रोलपम्प संचालकलाई दिँदै आएको कमिसन रकम वृद्धि गरेको छ । निगमले डिजेल र पेट्रोलको कमिसन प्रति लिटर करिब ३६ पैसाि बढाएको हो । निगमले अब मूल्य समायोजना गर्दा यो कमिसन थप गरेर मूल्य निर्धारण गर्नेछ ।यसको भार उपभोक्ताले लिनुपर्नेछ ।
साबिकको कमिसनदरमा पेट्रोलमा ०.३९५ प्रतिशत वृद्धि गरी ३.३९५ प्रतिशत र डिजेलमा ०.४७ प्रतिशत वृद्धि गरी ३.१२ प्रतिशत पु¥याएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । यसअघि पेट्रोलमा ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन दिँदै आएको थियो ।
निगमले कसिमन दर वृद्धि नगरे लिटरमा ५० पैसा मूल्य थप पेट्रोल र डिजेल बिक्री गर्ने व्यवसायीले घोषणा गरेका थिए ।
लामो समयदेखि कमिसन वृद्धि नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै व्यवसायीले निगमलाई दबाब दिएका थिए । निगम र नेपाल पेट्रोयिम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीबीच भएको छलफल पछि वैज्ञानिक मापदण्डका आधामार कमिसन वृद्धि गरेको निगमले जनाएको छ । आयल निगमले
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन खरिद गरेर ल्याएपछि पेट्रोल पम्प सञ्चालकलाई दिने कमिसनसहितलाई जोडेर मूल्य निर्धारण गर्छ । अहिले वृद्धि गरिएको कसिमनले पेट्रोल र डिजेलको बिक्री मूल्यमा औषतमा ०.३६ प्रतिशतले वृद्धि हुने बताईएको छ ।
व्यवसायीले डिजेलमा ४ प्रतिशत र पेट्रोलमा ४.५ प्रतिशत कमिसन बढाउन माग गरेका थिए मुलुकभर करिब १५ सय पम्प रहेका छन् । ती पम्पले दैनिक करिब ४८ लाख लिटर डिजेल र १५ लाख लिटर पेट्रोल बिक्री गर्छन् । निगमले व्यवसायीलाई दिँदै आएका केही सुविधा भने कटौती गरेको छ ।
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाट पम्पको अण्डर ट्यांकीमा तेल खसाउँदा हुन सक्ने चुहावट बापत पम्प व्यवसायीले पेट्रोलमा प्रति ४ हजार लिटर (एक चेम्बर) मा १० लिटर र डिजेलमा प्रति चार हजार (एक चेम्बर) लिटरमा ३ लिटर थपेर पाउने सुविधा भने खारेज गर्ने निर्णय गरेको छ ।