धुनिबेसीमा पहिरोमा पुरिएका ३ सवारीसाधनबाट उद्धार जारी, १४ जनाको शव निकालियो

काठमाडाैं - काठमाडौं र धादिङको सिमानामा पर्ने धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोले पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार, बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस र नम्बर नखुलेको बस पहिरोमा परेका थिए।

“कुन सवारीसाधनबाट कति जनाको शव निकालिएको हो भन्ने यकिन हुन सकेको छैन,” उनले भने, “पहिरोले तीनवटा सवारीसाधन पुरिएका छन्।” उद्धार कार्य जारी रहेको र फसेका यात्रु तथा सवारीसाधनको खोजी भइरहेको जानकारी पाण्डेले दिए।

सशस्त्र प्रहरीका अनुसार, माइक्रोबसबाट पाँच जनाको शव निकालिएको छ भने बाँकी नौ जनाको शव नम्बर नखुलेको बसबाट बरामद गरिएको हो।

उक्त माइक्रोबस शुक्रबार बिहान ८ बजे बुटवलको ट्राफिकचोकबाट काठमाडौंका लागि छुटेको थियो। गाडीमा रहेका अधिकांश यात्रु बुटवलका रहेको बताइए पनि पुष्टि भइसकेको छैन। गाडी पश्चिम नेपाल बस व्यवसायी प्रालिको हो र चालक रमेश लुइटेल रहेको बताइएको छ।

माइक्रोबसमा बुटवलका सुख्खानगर, कालिक नगर, र देवीनगरका यात्रु रहेको जानकारी प्राप्त भएको छ। बुटवलबाट १२ जना र बिच बाटोबाट एक जना यात्रु चढेको बताइएको छ। पहिरोमा परेको गाडी शनिबार दिउँसोमात्रै उद्धारकर्मीको टोलीले फेला पारेको हो।

अविरल वर्षाका कारण पहिरो गएको र निर्माणाधीन बुटवल–नारायणघाट सडकको खराब अवस्थाका कारण गाडी ठाँउ–ठाँउमा जाममा परेको थियो, जसले गर्दा दुर्घटना भएको बताइएको छ।

पहिरोले अर्को हायस र भारतीय नम्बरप्लेटको मालवाहक ट्रक पनि पुरिएको छ। दुई जेसीबीको सहायतामा पहिरो पन्छाउने कार्यभइरहेको छ।

 

प्रतिक्रिया