शनिबार रातिदेखिको निरन्तर वर्षाले पहिरो खस्दा डुम्रे–बेँसीसहर सडकखण्डको उदिपुर भाग पुनः अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले निरन्तर पानी परिरहेकाले पहिरो हटाउन समय लाग्ने बताए। यसअघि असार ४ गते पनि पहिरोले यो सडक अवरुद्ध गरेको थियो।
सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन लगायतका स्थानमा जाने यात्रुहरू तथा ती स्थानबाट बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रुहरू समस्यामा परेका छन्। डुम्रे–बेँसीसहर सडक ४२ किलोमिटर लामो रहेको छ।