काठमाडौं–विभिन्न वैंक, वित्तीय संस्था, बीमा कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरिरहेका बेला एक जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको तयारी गरेको छ । मोलुङ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीको ११ औं बार्षिक साधारण सभाबाट आईपीओ निष्कासनको निर्णय गर्ने भएको छ । कम्पनीले फागुन ६ गते साधारण सभा आह्वान गरेको छ । साधारण सभाले कम्पनीले निष्काशन गर्ने प्राथमिक शेयरको अनुपात र कित्ता तय गर्नेछ । यस्तै अधिकृत र जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र नियमावली संशोधन गर्ने तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गर्ने लगायतका एजेण्डा रहेका छन् ।
मोलुङ हाइड्रोपावर कम्पनीले ओखलढुंगाको मोलुङ खोलामा ७ मेगावाट क्षमताको मोलुङ जलविद्युत आयोजना निमार्ण गरेको छ । जसले २०७४ साल चैत १२ गतेबाट विद्युत उत्पादन शुरु गरेको थियो । तर कम्पनीले अहिलेसम्म कुल उत्पादन क्षमता अनुसारको विद्युत उत्पादन गर्न सकेको छैन । आयोजनाबाट बर्खामा ७ र हिउँदमा ४ मेगावाट उत्पादन हुने भनिए पनि हिउँदका बेला २ देखि ३ मेगावाट मात्रै उत्पादन हुँदै आएको छ । कुल १ अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको मोलुङ हाइड्रोपावरमा ४ वटा बैंकको १ अर्ब ३ करोड ऋण लगानी रहेको छ । हाइड्रोले करिब दुई हजार स्थानीयबाट संस्थापक शेयरका रूपमा रकम संकलन गरेको छ । ७ मेगावाट क्षमताको आयोजनाका लागि कम्पनीले गाउँपालिकाका ८ वटा वडाका १ हजार ८ सय ७५ उपभोक्ताबाट २ करोड ५५ लाख २६ हजार रकम संकलन गरेको थियो ।