काठमाडौं - एक गुडिरहेको गाडीमा यात्रुको ज्यान गएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै मृत्यु भएको हो।
राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र-०१००६-ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा वली मृत्यु भएको हो।
सँगै यात्रा गरिरहेका वलीको मृत्यु भइसकेको कुरा गाडीभित्रका कसैले पनि थाहा पाएनन्।जिल्ला प्रहरी कार्यालय सल्यानका हवल्दार वीरेन्द्र खड्काले दिएको जानकारीअनुसार सल्यानको बागचौर नगरपालिका- २ थारमारेमा आएर गाडी रोकिएपछि मात्रै वलीको मृत्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका हुन्।
‘थारमारेको शारदा होटलमा सोमबार दिउँसो साढे १ बजेतिर हायस गाडी आइपुगेको रहेछ,’ ट्राफिक हवल्दार खड्काले भने, ‘सबै यात्रु झरेर खाजा नास्ता खान गए पनि वली सिटमै थिए। खाजा खाएर फर्किएकी एक जना आफन्त महिलाले बोलाउन खोजेपछि बल्ल उहाँको मृत्यु भएको कुरा थाहा भएको हो।’
खड्काका अनुसार वली हायस गाडीको अगाडिको सिटमा एक्लै बसेका थिए।