काठमाडौं–कोभिडले आजित जनताका लागि खुशीको खबर छ । नेपालमा पनि कोभिड विरुद्धको खोप लगाउनका लागि भारतबाट आयात गरिएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशमा पठाइँदैछ । प्रदेशबाट जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । सम्भवतः आगामी बुधबारदेखि नै खोप लगाउन सुरु गरिने मन्त्रालय स्रोतले जानकारी दियो ।
पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइनेछ । काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।
पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भारत सरकारले यही माघ ८ गते अनुदानमा नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको थियो ।