आफ्नै आमाको हत्या गर्ने पापी छोरो

कुप्रो परेको ज्यान । चाउरी परेको अनुहार । साथमा बुढेसकालको सहरा भनिने उही लौरो टेक्दै घरको आँगन कुर्ने दैनिकी । तनहुँको व्यास नगरपालिका– ११ दरैपधेरोका ७२ वर्षीया वृद्धा लक्ष्मी दरैको बिहीबार अघिसम्म यस्तै दैनिकी थियो ।

अब उही लौरो टेक्दै आँगन कुर्ने लक्ष्मीले कहिल्यै आँगन कुर्ने छैनन् । उनी बिहीबार बेलुकी आफ्नै लाठे छोराले हानेको दाउराका कारण ज्यान गुमाईन् । छोराको दाउरा प्रहारबाट ७२ वर्षीया वृद्धा आमाले ऐया समेत भन्न पाईनन् । उनको उत्तिखेरै श्वास बन्द भई ज्यान जान्छ । मादक पदार्थ सेवन गरी प्रेमले आमालाई दाउरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

३३ वर्षीय प्रेमलाई अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ । उनलाई कर्तव्य ज्यान कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको तनहुँ प्रहरीका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जनाकारी दिए ।

जग्गाको विषयमा आमासँग झगडा भइरहने गरेको बुझिएको वडा सदस्य रामकृष्ण अधिकारीले बताए । प्रेम खराब प्रवृत्तिको रहेछ । आमासँग उनको जग्गाको विषयमा विवाद भइरहने गरेको बुझिएको छ । उनले भने ।

प्रेमका दुई जना आमा रहेको समेत खुलेको छ । उनी कान्छी पट्टीको एक्लो छोरा हुन् । उनको एक दिदी छिन् । उनीसहितलाई जग्गाको अंशवण्डा भईसकेको बुझिएको स्थानीयले बताएका छन् । छुट्टा छुट्टै घरमा बसेका उनीसँगै आमा पनि बस्थिन् ।

उनी लागुऔषध दुव्यर्सनी समेत रहेको खुलेको छ । लागुऔषध र मादक पदार्थ सेवन गर्दै छिमेकको बाख्रा समेत चोर्दै हिड्थे । यसरी नै बिग्रदै गएका प्रेमले विस्तारै आफ्नो भागमा रहेको जग्गा बेच्दै सक्काएका थिए । उनको काम केही छैन ।

उनले मापसे गर्दै श्रीमतीलाई समेत दैनिक पिट्ने गर्थे । जेठी श्रीमतीलाई उनले लखेटी घरमा कान्छी श्रीमती भित्र्याएका थिए । आफ्नो जग्गा बेच्दै सकेपछि आमाको नाममा जिउनी भाग रहेको जग्गा बेच्न आमा दवाव दिँदै आएका थिए ।

यही विषयमा आमासँग उनको दैनिक जसो झगडा भईरहन्थ्यो । आमालाई मार्नु अघि १० दिन अघि उनले आमालाई पिटेका थिए । उनले पिटेपछि वृद्धा लक्ष्मी अर्को जेठा छोराको घरमा बसेकी थिईन् ।

मापसेमा लठ्ठ प्रेमले बिहीबार आमा देखेपछि फेरी विवाद सुरु भयो । त्यसपछि उनले छेउमै रहेको दाउरा उचाल्दै आमाको टाउकोमा प्रहार गरे । उनको प्रहारले आमा ठाउँको ठाउँ ढलिन् । आमा चलमल गरिनन् । टाउकोबाट रगत बगेको बगई भयो ।

स–साना केटाकेटीको चिचाहट सुरु भयो । त्यसपछि पनि शान्ता नदेखिएका प्रेमले सँगै रहेकी कान्छी श्रीमतीलाई समेत मरणासन्न हुने गरी कुटेर उनी छिमेकीको घरमा शरण लिन पुगे । त्यसपछि होहल्ला हुँदै प्रहरीलाई खबर पुग्यो ।

प्रतिक्रिया