माघ ११ गतेदेखि शेयर कारोबारमा टी प्लस टू लागू , अब तीन दिनमै राफसाफ हुने

काठमाडौं– शेयर कारोबारमा राफसाफ तथा फछ्र्यौट छिटो गर्नका लागि माघ ११ गतेदेखि शेयर कारोबारमा टी प्लस टू लागु हुने भएको छ । शुक्रबार केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि) र ब्रोकरबीच भएको छलफलमा माघ ११ गतेदेखि टी प्लस टू लागु गर्ने सहमति भएको हो । शुक्रबार भएको छलफलमा आगामी माघ ११ गतेदेखि टी प्लस टू कार्यन्वयनमा ल्याउने निर्णय भएको ब्रोकर एशोशियसनका अध्यक्ष सन्तोष मैनालीले बताए ।
हाल शेयर कारोबारमा राफसाफ तथा फछ्र्यौट चक्र टि प्लस थ्रि रहेको छ । टी प्लस टू ु लागु गर्न नेपाल धितोपत्र बोर्डले पनि स्वीकृति दिइसकेको छ । सेयर कारोबार भएको चार दिन पछि दोस्रो बजारमा राफसाफ हुने गरेको छ । सेयर खरिद वा बिक्री गरेको दिनलाई टि प्लस जिरो मानिन्छ ।

त्यसपछिको दोस्रो दिनलाई वान र तेस्रो दिन टू र चौथो दिनलाई थ्री भनिन्छ । कारोबार सम्पन्न भएको चौथो दिनको राफसाफ नै टी प्लस थ्री हो । जुन दिन सेयर बिक्रीकर्ताले रकम प्राप्त पाउछन् भने सेयर किन्नेकोे खातामा सेयर दाखिला हुन्छ । हाल टी प्लस थ्री व्यवस्था कार्यान्वयनमा छ । अर्थात् मानौं तपाईंले आइतबारको कारोबारमा सेयर खरिद वा बिक्री गर्नु भयो भने बुधबारसम्ममा तपाईंले सेयर खरिद गरे वापतको पैसा बुझाउनुपर्छ र तपाईंले खरिद गरेको सेयर डिम्याट खातामा आइपुग्छ । त्यसैगरी यदि सेयर बिक्री गरेको भए बुधबारसम्म तपाईंको खातामा त्यसवापतको रकम आइसक्नुपर्छ ।
अब यो व्यवस्थालाई हटाएर यसअघि कायम भएको कारोबारको ३ दिनको अवधिलाई २ दिनमा सीमित बनाउन टि प्लस टू लागू गर्न लागिएको हो ।

प्रतिक्रिया