उत्तरपश्चिम टर्कीको बोलु प्रान्तस्थित कार्तलकायामा रहेको १२ तले ग्राण्ड कार्तल होटलमा आगलागी हुँदा ७६ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
आगलागीको सुरुवात होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट भएको थियो। घटनाको समयमा होटलमा २३४ पाहुना रहेका थिए। आगलागीको त्रासका कारण केही मानिसले होटलको माथिल्लो तलाबाट हाम फालेका थिए, जसबाट दुई जनाको मृत्यु भएको छ। अन्य धेरैको मृत्यु धुँवाको कारण श्वास फेर्न नसकेर भएको हो।
आगो लागेपछि होटल धुँवाले भरिएर बाहिर निस्किन कठिन भएको र चेतावनीको साइरनसमेत नबजेको स्थानीय मिडियाले जनाएका छन्।
घटनास्थलको निरीक्षण गर्दै टर्कीका गृहमन्त्री अली येरलिकायाले यो घटनाबाट सरकार दुःखी भएको र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।