एसिसी प्रिमियर कप - कतारमाथि नेपालको सनसनीपूर्ण जित

काठमाण्डौं -काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत खेलमा नेपालले कतारलाई ३२ रनको फराकिलो जित निकाल्न सफल भएको छ ।  

यो नेपालको प्रतियोगितामा लगातार दोस्रो जित हो । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । जितसँगै नेपाल ४ अंक बटुल्दै समूह एको शीर्ष स्थानमा उक्लिएको छ ।नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रनमात्र बनाउन सक्यो । कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रनको शानदार इनिङ्स खेले पनि टोलीलाई जितसम्म डोर्‍याउन सकेनन् । उनले यसक्रममा ६ चौका र ४ छक्का हिर्काए ।मोहमद अनाफले २३ रन बनाए भने हिमान्सु राथोडले २२ रन प्रहार गरे । अदनान मिर्जाले १९ तथा ओपनर कमरान खानले १८ रनको योगदान दिए ।

नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले २–२ विकेट लिए । कुशल मल्ल र अविनाश बोहराले १–१ विकेट हात पारे ।

प्रतिक्रिया