काठमाडौं – लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेशमा सार्वजनिक विदा दिएको छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा प्रदेशभर आज सार्वजनिक विदा दिएको हो ।
कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम केसीले जानकारी दिए । उनका अनुसार स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिलाई मात्र आमन्त्रण गरिएको छ ।
स्थापना दिवस मनाउनकै लागि प्रदेशका सबै मन्त्री तथा प्रदेश प्रमुख दाङ पुगिसकेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभाका सभामुख पूर्णबहादुर घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने छ । लुम्बिनी प्रदेशसभाले १७ महिना अगाडि प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा गरेको थियो । तर स्थायी राजधानीमा संरचना नहुँदा बुटवलबाटै प्रदेश सरकारले कामकाज सञ्चालन गर्दै आएको छ । स्थायी संरचना नबनेसम्म मन्त्रालयहरु सार्न नहुने दवाव सत्तारुढ गठबन्धभित्रै छ ।