आज श्रीकृष्ण जन्माष्टमी, प्रमुख मन्दिरहरूमा भक्तजनको भीड

काठमाडौं – आज २०८१ साल भदौ १० गते सोमबार, सन् २०२४ अगष्ट २६ तारिखका दिन, हिन्दु धर्मावलम्बीहरूले श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने यो पर्व संसारभरका कृष्ण भक्तहरूको लागि विशेष महत्त्व राख्छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरूले बिहानैदेखि स्नान गरी व्रत बस्छन्, र दिनभर जल वा फलफूल मात्र ग्रहण गरी सात्विक रहन्छन्। मध्यरातमा श्रीकृष्णको मूर्तिलाई पञ्चामृतले स्नान गराउँदै विशेष पूजा आराधना गरिन्छ।

धार्मिक मान्यताअनुसार, आजकै दिन मामा कंशको कैदमा रहेका वासुदेव र देवकीको गर्भबाट भगवान् श्रीकृष्णको जन्म भएको मानिन्छ। हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनि गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन बजाउँदै भगवान् श्रीकृष्णको उत्पत्तिका लागि यो दिन विशेष मानिन्छ।यो पर्वलाई विभिन्न नामले चिनिन्छ, जस्तै: सातम आठम, गोकुलाष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती, र सामान्यत: जन्माष्टमी।आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति, दीर्घायु, र समृद्धि हुने विश्वास गरिन्छ। श्रीकृष्णको पूजामा विशेष ध्यान दिनुपर्ने कुरा कालो रंगको बर्जन हो। मन्दिरमा पूजा गर्दा रंगीन फूल र गोपी चन्दनको प्रयोग गरिन्छ।काठमाडौं उपत्यकाका प्रमुख कृष्ण मन्दिरहरूमा आज ठूलो भीडभाड देख्न सकिन्छ। 

पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ। त्यसैगरी, कागेश्वरी मनोहराको नवतनधाम, बूढानीलकण्ठको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको मन्दिर, र बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनहरूको भीड लागेको छ।यस पर्वको उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक सङ्घसंस्थाहरूले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने परम्परा छ। श्रीकृष्णको जन्मपछि मध्यरातमा शोभायात्रा निकाल्ने गरिन्छ। आजको दिनलाई सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ, जसले पर्वको महत्त्वलाई अझै बढाएको छ।

प्रतिक्रिया