गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे विवाह

पोखरा – माछापुच्छ्रे गाउँपालिका कास्की अध्यक्ष कर्णबहादुर गुरुङ शुक्रबार घरपझोङ गाउँपालिका मुस्ताङकी उपाध्यक्ष शर्मिला गुरुङसँग विवाह बन्धनमा बाँधिए ।

कास्की हेम्जाको गुम्बामा उनीहरुले विवाह गरे । विवाहपछि नजिकैको पार्टी प्यालेसमा सानो भोजको आयोजना गरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संघीय युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा लगायत विवाह समारोहमा सरिक भए ।

लगन जुर्न ढिलै भयो नि ? भन्ने प्रश्नमा अध्यक्ष गुरुङले भने– ‘हिरक जयन्ती मनाउने बेलामा हाम्रो लगन जुर्यो ।’

उनले आफ्नो उमेर भने खुलाएनन् । उपाध्यक्ष शर्मिलालाई समेत उमेरबारे जिज्ञासा राख्दा उनको उत्तर थियो– ‘भर्खर विवाह हुँदैछ भनेपछि विवाह गर्ने उमेर भएछ भनेर बुझ्नुपर्यो ।’ जानकारहरु कर्ण ४७ वर्ष र शर्मिला ४६ वर्ष पुगेको बताउँछन् ।

एकअर्कालाई चिन्नेबुझ्ने अवसर मिलेपछि पारिवारिक सल्लाहमै विवाह गरिएको नवविवाहित जोडी बताउँछन् ।

प्रेम विवाह कि मागी विवाह ? भन्ने प्रश्नमा अध्यक्ष कर्णले भने– ‘माया र प्रेम नभइकन विवाह हुने त कुरै आएन, तर चिनजान १० वर्षदेखि थियो ।’

जनप्रतिनिधि भएपछि बाक्लिएको भेट

२०७१ सालमा एक्यापको बैठकमा पहिलोपटक भेट भएपनि जनप्रतिनिधि भएपछि भने भेटघाट बाक्लिएको बताउँछन् अध्यक्ष कर्ण । पहिलेदेखि चिनजान भएकोले स्थानीय तह बैठक, गोष्ठी कार्यक्रमहरुमा भेटघाटले निरन्तर पाइरह्यो । उनले थपे, ‘अरु साथीहरु जोडी होस भनेर शुभेच्छा दिनुहुन्थ्यो, स्याटार हान्नुहुन्थ्यो, त्यसलाई हामीले सँगै यात्रा गरौ न त भनेर निधो गर्यौ ।’

ढिला विवाहबारे सोधिएको प्रश्नमा उपाध्यक्ष शर्मिलाको जवाफ थियो, ‘लगनगाँठो भन्ने कुरो लेखिएको हुँदो रहेछ, त्यसपछि हामी त संगठनमा हिड्ने मान्छे पर्यौं ।’

२०४६ सालदेखि नै शार्मिला राजनीतिमा होमिएका थिए । मुस्ताङ जिल्लाको अनेरास्ववियुको संस्थापक मध्येका शर्मिला एक हुन । ५२ सालमा पार्टीको संगठित सदस्य बनेका उनी शिक्षण पेशामा रहँदा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला उपाध्यक्ष बनिन् । पछि शिक्षक युनियनको जिल्ला अध्यक्ष समेत बने । तत्कालिन एमाले मुस्ताङका सचिवालय सदस्य रहेका शर्मिला पार्टी एकतापछि नेकपा मुस्ताङका सदस्य छन् ।

प्रतिक्रिया