मनसुनको विपद् : ७४ जनाको मृत्यु, हजारौं परिवार विस्थापित

काठमाडौं – नेपालमा मनसुन सुरु भएयता विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद् घटनामा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको छ।

घाइते हुनेमध्ये काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेसमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना छन्।

कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको छ। बाढी पहिरामा परी कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना बेपत्ता भएका छन्।

बेपत्ताको खोजी कार्य जारी रहेको छ। बाढीका कारण १६१ घर डुबानमा परेका, ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ भने ३३५ पशुचौपाया मरेका छन्।

विपद् घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन्। बाढी पहिराको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने र सडकको अवरोध हटाउने कार्य भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय