नयाँ बजेटले शेयर बजारमा कस्तो असर पार्ला ?


काठमाण्डौ–सरकारले नयाँ बजेट ल्याए पछि त्यसले शेयर बजारमा कस्तो प्रभाव पार्ला भन्ने आम चासो छ । सरकारले शुक्रबार संसदमा पेश गरेको संसोधित बजेटका कारण सेयर बजारमा सकारात्मक प्रभाव पर्नसक्ने देखिएको छ ।  संसोधित बजेटमा ठूला जलविद्युत आयोजनाहरुका लागि करमा बम्पर छुटको घोषणा गरिएको छ । यसले हाइड्रो सेक्टरका लगानीकर्तालाई उत्साहित बनाउन सक्छ । 


अर्थमन्त्री जनार्दन शर्माले संसोधित बजेट प्रस्तुत गर्दै २०० मेगावाट भन्दा माथिका जलाशय तथा अर्ध जलाशय युक्त जलविद्युत आयोजनाका लागि छुट सुविधा र सहुलियत दिई लगानी आकर्षित गर्ने प्रबन्ध गरिएको जानकारी दिए । जलस्रोतको बहुउपयोगका लागि नयाँ योजनाहरु तयार गर्दा जलविद्युत उत्पादन क्षमता, सिँचाईको सम्भाव्यता र खानेपानीको स्रोतको पहिचान गर्न एकीकृत नक्साङ्कन तयार गरिने समेत उनले सो क्रममा बताए । 
’सम्वत् २०८२ साल चैत्रसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २०० मेगावाट माथिका जलाशय तथा अर्ध जलाशययुक्त जलबिद्युत आयोजनाले व्यापारिक कारोबार शुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिने व्यवस्था गरेको छु। त्यस्ता आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, प्लाण्ट, मेशिनरी औजार एवम् सोको पार्टपूर्जा, पेनस्टक तथा स्टील सीटको पैठारीमा लाग्ने महसुल घटाई १ प्रतिशत मात्र लाग्ने व्यवस्था मिलाएको छु।’–उनले प्रतिस्थापन विधेयक पेश गर्दै भनेका छन् ।  

यस्तै, अर्थमन्त्री शर्माले पुँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने समेत घोषणा गरे । 
उनले सरकारको मातहत रहेका सम्भाव्य सार्वजनिक संस्थानहरूलाई आवश्यकता अनुसार पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडलमा रुपान्तरण गरी पुँजी बजारमा सूचिकृत गरिने समेत घोषणा गरे ।
 

प्रतिक्रिया