सरकारले आजदेखि बजेट खर्च गर्न नपाउने, अब के हुन्छ ?


काठमाडौं– सरकारले आज बुधबारदेखि सरकारी ढुकुटी खर्च गर्न नपाउने भएको छ । खर्च गर्न नपाए पछि सरकारलाई कानुनी जटिलता आइ लागेको छ । 
सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक संसदबाट पास नभए पछि सरकारलाई यस्तो समस्या आइलागेको हो । गत जेठ १५ गते सरकारले अध्यादेश मार्फत ल्याएको चालु आवको बजेट ६० दिनभित्र पारित गरी राष्ट्रपतिबाट प्रमाणिकरण भए पछि मात्र खर्च गर्ने बाटो खुल्थ्यो । भदौ ३० समय सकिएको छ ।

 अर्थमन्त्री जनार्दन शर्माले यही भदौ २५ गते संसदमा प्रतिस्थापन विधेयक पेश गरेका थिए । मंगलबार विचार गरियोस् भन्ने सैद्धान्तिक प्रस्ताव मात्रै स्वीकृत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गतेका लागि मात्रै राखिएको छ । यस आधारमा भदौ ३० गतेभित्र बजेट पारित गरिसक्नुपर्ने समयसीमा घर्किएकाले सरकारलाई बजेट खर्च गर्ने बाटो रोकिएको हो । सरकारले राजश्व उठाउन पाए पनि खर्च गर्न नपाउने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।


अर्थमनत्री शर्माले पनि राज्यकोषबाट खर्च गर्न केही दिन रोकिन सक्ने स्वीकार गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री शर्माले राज्यकोषबाट हुने खर्च केही दिन रोकिने बताए । नेपालको इतिहासमा सरकारले बजेट खर्च गर्न नपाएको यो पहिलो पटक हो । अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा केही दिन बजेट खर्च गर्न नपाएर रोकिएको थियो ।
कसरी खर्च गर्ने विषयमा कानुनविद्सँग छलफल सुरु भएको अर्थमन्त्रालयले जनाएको छ ।


 

प्रतिक्रिया