कोभिड असर बीच नौ बैंकले नाफा बढाए, कुन बैंकको नाफा बढ्यो, कुनको घट्यो ?

काठमाडौं–कोभिड–१९को कारण मुलुकको आर्थिक गतिविधिमा असर पुगेसँगै त्यसको प्रभाव बैंकिङ क्षेत्रमा पनि परेको छ । कोभिडको कारण बैंकले कर्जा लगानी विस्तार गर्न नसक्दा र व्याज समेत नउठे पछि त्यसको प्रभाव बैंकको व्यालेन्स सिटमा देखिएको हो ।

कोभिडको कारण २७ वाणिज्य बैंक मध्ये दुई तिहाई बैंकको नाफा पोहोरको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिना असोजसम्म १८ बैंकले नाफा बढाउन सकेनन् भने नौ वटा बैंकको मात्र नाफा बढेको छ ।

२७ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोजसम्म १४ अर्ब ६० करोड ३९ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । समग्र बैंकहरुको नाफा पोहोरकोे तुलनामा ४.२८ प्रतिशतले गिरावट आएको छ ।

बैंकहरु मध्ये सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । जनता बैंकसँग मर्ज भएर मुलुककै सबैभन्दा ठूलो बैंक भएको ग्लोबल आईएमईले तीन महिनामा १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । आईएमई बैंकले २ अर्ब ५९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

०७७ असोज मसान्तमा ग्लोबल आइएमइको स्प्रेड दर ५.०३ प्रतिशत छ । स्प्रेड दर बढी कायम गर्न पाएकाले बैंकले बढी ब्याज आम्दानी गरेको छ । जसकारण नाफा बढाउन सकेको हो ।

त्यसैगरी, नेपाल बंगलादेश बैंक, एनआईसी एसिया बैंक, मेगा बैंक, एनएमबी बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम बैंक र सिटिजन्स बैंकले नाफा बढाएका छन् । अन्य १८ वटा वाणिज्य बैंकको नाफा घटेको छ ।

हिमालयन बैंकको नाफा ४७.२९ प्रतिशतले, सेन्चुरी बैंकको ४०.६०, नेपाल एसबीआई बैंकको ५४.१४, एभरेष्ट बैंकको ५१.५४, सानिमा बैंकको ३७.१२, बैंक अफ काठमाण्डूको ३७.०९, सिभिल बैंकको ३९.१७ प्रतिशत, सनराइज बैंकको १५.७१, सिद्धार्थको ३.९ प्रतिशत, कृषि विकास बैंकको २२.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २६.४५, लक्ष्मीको २२.२८, माछापुच्छ्रेको ४.०१,नविल बैंकको ७.८२ प्रतिशतले कमी आएको छ ।

प्रतिक्रिया