दुई जना नै महासंघमा अट्नुपर्छ–भवानी राणा

काठमाडौं-
नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन यहि मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । त्यस्तै आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको उम्मेदवारी परेको छ । दुबै उम्मेदवारले निर्वाचनका लागि तयारी गरिरहेको अवस्थामा महासंघकी अध्यक्ष भवानी राणा भने दुबैलाई मिलाएर लैजाने प्रयास भइरहेको बताउँदै आएकी छन् । कोभिडबाट व्यवसायीक क्षेत्रमा असर परेको परिस्थितिमा सरकारसँग समन्वय गरेर अगाडि बढ्न सक्ने व्यक्ति र समूह नै महासंघको नेतृत्वमा आउनुपर्नेमा समेत अध्यक्ष राणाले जोड दिएकी छन् । त्यस्तै महासंघभित्रको राजनीति र गुटलाई अन्त्य गर्ने गरी कम्तीमा पनि वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको आधारमा उम्मेदवारी दिने कुरामा आफूले छलफल अगाडि बढाएको बताएकी छन् । महासंघको महाधिवेशन र चुनावको विषयमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले अध्यक्ष राणासँग गरेको कुराकानी ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा उत्तरार्धमा हुनुहुन्छ । कस्तो रह्यो कार्यकाल ?

मेरो कार्यकाल कोभिडले गर्दा केही लम्बिएको पनि छ । मेरो कार्यकालमा थुप्रै नयाँ योजनाका कार्यक्रमहरु गर्यौं । महासंघलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा बलियो बनाउनका लागि विभिन्न कार्यक्रम तथा क्रियाकलापहरु भएका छन् । देश विदेशका भ्रमणहरु पनि यसपटक वर्ष मै दुई तीनपटक भएको छ । जस्तै प्रधानमन्त्रीसँग, राष्ट्रपतिसँग बाहिर गएर हामीले अन्तरक्रिया गर्ने मौका पायौं । भारत, चीन, युरोपमा गएर पनि नेपालमा व्यवसाय गर्नका लागि राम्रो वतावरण छ भनेर जानकारी गराउने मौका पनि पायौं ।

तपाईंले आफ्नो कार्यकालमा आत्मसन्तुष्टि हुने खालको कुनै काम भएको महसुस गर्नुभएको छ ?

मेरो कार्यकालमा जुन निरन्तर हुने कार्यहरु हुन्छन, नीतिगतरुपमा सुझावहरु दिने र व्यवसाय गर्ने वातावरण निर्माण गर्नका लागि पहल गर्ने किसिमको कुरामा अगाडि बढ्यौं ।

मेरो कार्यकालमा नेपाल प्रादेशिकरुपमा अर्थात संघीयतामा गएकाले पनि हामीले सातवटै प्रदेशका सरकारसँग समन्वय गर्नुपर्छ भनेर सातवटा प्रदेशको मुख्यमन्त्रीहरुसँग पनि हामीले सम्झौता गर्यौं । उद्योग वाणिज्य महासंघको पनि सात वटै प्रदेशमा शाखा कार्यालय पनि खोल्यौं । महासंघको प्रदेश शाखामार्फत् त्यस क्षेत्रको आर्थिक गतिविधि बढाउनका लागि विभिन्न निकायहरुसँग समन्वय गर्ने कामहरु पनि अगाडि बढायौं ।

महासंघले गर्नैपर्ने तर समय अनुकुल नमिलेर गर्न नसकिएका कामहरु केही बाँकी छन् ?
उद्योग वाणिज्य महासंघमा नेतृत्व लिएपछि कुनैपनि काम सिद्धिदैन । निरन्तर अगाडि बढ्ने काम छन् । व्यवसायिक हक हितको लागि, व्यवसाय गर्ने वातावरण बनाउनका लागि, स्वदेशी लगानीलाई कसरी विस्तार गर्ने, वैदेशिक लगानी कसरी भित्र्याउने भन्ने कुरा निरन्तर हुने काम हुन् । अबको नेतृत्वले पनि त्यो गर्नुहुन्छ । अब नेपाल सरकारबाट लगानी सम्मेलनको पनि आयोजना भएको थियो जहाँ महासंघ पनि आवद्ध भएको थियो ।

नेपाल सरकारको यस्ता थुप्रै किसिमका कार्यक्रमहरु विभिन्न मन्त्रालयहरुसँग जस्तै उद्योग वाणिज्य मन्त्रालय, श्रम मन्त्रालयसँग मिलेर सामाजिक सुरक्षाका कुराहरु यसैपटक अगाडि बढ्यो । र, नयाँ ढंगले सरकारले गरेको कार्यहरुमा महासंघले पनि हातेमाले गरेर अगाडि बढ्यो । सँगसँगै थुप्रै नीतिहरु जुन परिमार्जन गर्नुपर्ने थियो लगानीको वातावरण बनाउनका लागि त्यो कुरामा पनि हामीले नेपाल सरकारलाई थुप्रै सुझावहरु दियौं ।

अहिले अन्तिममा आउँदाखेरी कोभिडले गर्दा विश्वलाई नै शिथिल पारेको र नेपाल सानो अर्थतन्त्र भएकाले हामीमा थुप्रै चुनौतिहरु पनि छन् । बजेट ल्याउँदा हामीले सुझावहरु पनि दियौं । खासगरी मौद्रिक नीतिमा हामीले तीनवटा कुरा उठाएका थियौं । ब्याजदर घटाउनुपर्ने, पुनरतलिकिकरण गर्नुपर्ने, रिफाइनान्स गर्नुपर्ने कुराहरु भएको छ । तर अझ पर्याप्त छैन । अझ यसलाई निरन्तरता दिनुपर्छ र त्यसका लागि अब आउने नेतृत्वले पहल गर्नुहुन्छ । म पनि निवर्तमान अध्यक्षको हिसाबले पनि महासंघमा हुन्छु र सहयोग गर्छु ।

कोभिड–१९ को कारणले विश्वभरको अर्थतन्त्रमा असर परेको छ । अब अर्थतन्त्रको पुनरउत्थानका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने कुराहरु के के देख्नुभएको छ ?

निजी क्षेत्रले गर्नुपर्ने कुराहरुमा केभिड शुरु हुने बित्तीकै सरकारसँग सहकार्य गरेर हामीले काम गरिरहेका थियौं । र, यस्तो बेलामा आपूर्ति सहज गर्नका लागि जिल्ला जिल्लाका उद्योग वाणिज्य संघहरुलाई क्रियाशिल बनाएर उपभोक्तालाई आपूर्ति सहज होस भनेर खाद्यान्नका कुराहरु, अति आवश्यक वस्तुका कुराहरु र त्यसमा अति अप्ठेरो अवस्थामा पनि निजी क्षेत्रले सहयोग गरेको र आफ्नो उद्योगहरुलाई निरन्तरता दिन नाफा भन्दापनि उद्योगधन्दा बन्द नहोस् त्यहाँ रोजजारी नगुमोस भन्ने कुरामा ध्यान केन्द्रित छ । त्यसकारण त्यसका लागि निजी क्षेत्र मात्र होइन सरकारले पनि सहयोग गर्नुपर्छ ।

यसमा अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सकिदैन ?

अल्पकालका लागि हामीले मौद्रिक नीतिमार्फत् गर्यौं । तर त्यतिले मात्रै पुग्दैन । किनभने अहिले पनि कोभिडको असर निरन्तर भइरहेको छ ।

अहिले बन्द खुलेको छ । तर पनि जति सहज रुपमा उद्योगहरु चल्नुपर्ने हो नचलेको अवस्था छ । यस्तो अवस्थामा अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ र लगानी विस्तार गर्नुपर्छ । ठुला आयोजनाहरु जुन जलविद्युत् उर्जा क्षेत्रका कुरा अगाडि बढेको छ । राष्ट्रियस्तरका ठुला आयोजनाहरु छन् । त्यसलाई छिट्टै सिध्याउने हिसाबमा नेपाल सरकार पनि जानुपर्ने हुन्छ । अहिले बजारमा पूँजीको कमी छ त्यसले गर्दा नेपाल सरकारबाट गर्नुपर्ने खर्चलाई पनि समयमा गर्न सक्यो भने बजारमा पूँजीको अभाव हुँदैन ।

सबैभन्दा ठुलो समस्या भनेको उधारो नै उठिरहेको छैन् । त्यसले गर्दा उद्योग व्यवसायलाई एकदमै अप्ठेरो परेको अवस्था छ । सरकारले मौद्रिक नीतिमार्फत् गर्नुपर्ने पुनरकर्जाका कुराहरुमा साना तथा मझौला व्यवसायलाई राम्रो नीति लिएर आएको छ तर कार्यान्वयन पक्षमा कताकता अझपनि राम्रोसँग हुन नसकेको अवस्था छ ।

अहिले गभर्नरले ल्याउनु भएको कुराहरुलाई हामीले स्वागत पनि गरेका छौं । त्यसलाई अझ दीर्घकालीन योजना बनाउनुपर्ने समय आएको छ ।
सरकारले बाहिरबाट लगानी भित्र्याउनुपर्ने कुराहरु, पूँजी पनि भित्र्याउनुप¥यो । त्यस्ता कुराहरुलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ र निजी क्षेत्रले गर्नुपर्ने सहयोग त सरकारलाई गरिनै रहेको छ ।

उद्योग वाणिज्य महासंघमा अध्यक्षको चुनाव नभई वरिष्ठ उपाध्यक्षको चुनाव हुने गर्छ । यो चुनावलाई कसरी हेरिरहनु भएको छ ?
म महासंघमा भएको झण्डै १५ वर्ष भइसक्यो । पहिला पहिला अध्यक्षकै निर्वाचन हुन्थ्यो । म पनि उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष भएर नै अध्यक्षमा पुगे ।

पछिल्लो समयमा महासंघमा धेरै राजनीति भयो त्यसकारण अध्यक्ष भन्दापनि वरिष्ठ उपाध्यक्षको निर्वाचन गरौं र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भइसकेपछि अलिकति राजनीति कम हुन्छ र काम गर्न सकिन्छ भन्ने हो ।

किनभने उद्योग वाणिज्य महासंघ भनेको सरकारपछिको ठूलो सञ्जाल भएको संस्था हो । यो राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पनि छ ।

वरिष्ठ भएर आइसकेपछि उसले भोलि अध्यक्ष बन्छु भनेर महासंघको संस्थागत रुपमा गर्नुपर्ने कामदेखि लिएर सरकारसँग गर्नुपर्ने कामहरुका कुराहरुलाई सहज ढंगबाट गरोस् । ऊ राजनीतिमा नमिसियोस र भोलि आउने दिनमा फेरि निर्वाचन हुँदा राजनीतिको कारण वरिष्ठ भइसकेको व्यक्ति निर्वाचित नहुन सक्छ । अर्को नयाँ मान्छे आउन सक्छ त्यसकारणले वरिष्ठ भएकालाई अध्यक्ष बनेर काम गर्ने प्रक्रिया शुरु गरेका थियौं ।

यो शुरु गर्दाखेरी कति राम्रा पक्षहरु पनि छन् कति ठाउँमा निर्वाचन अध्यक्षकै हुनुपर्छ । अझ राजनीति भयो भन्ने कुराहरु पनि आइरहेको छ । त्यसले गर्दाखेरी मलाई लाग्छ यो साधारणसभाले वा जिल्ला, वस्तुगत, र एसोसिएट्सका सदस्यहरुले जे चाहनुहुन्छ त्यही हुन्छ । विधान भन्ने कुरा त समय अनुसार र सदस्यहरुको सुझाव अनुसार परिवर्तन भइराख्ने कुरा हो ।

संस्थाको अभिभावकीय भूमिकामा हुनुहुन्छ । निर्वाचन आफैमा पनि प्रजातन्त्रिक प्रक्रिया हो । यस्तोमा निर्वाचनलाई कसरी हेर्नु भएको छ ?

निर्वाचन आफैमा प्रजातन्त्रिक प्रक्रिया हो र हुनुपनि पर्छ । किनभने प्रतिष्पर्धामा गएर अगाडि बढ्यो भने राम्रो पनि हुन्छ । र, कतिपय समयमा मेलमिलाप गरेर पनि अगाडि बढ्नुपर्छ । जस्तै उद्योग वाणिज्य महासंघको इतिहासमा पनि थुप्रै अध्यक्षहरु हुनुहुन्छ जसलाई एकपछि अर्को गरेर मिलाएर लगेका छौं ।

उद्योग वाणिज्य महासंघमा पुग्दाखेरी हामीपनि आफ्नो समयलाई योगदान गरेर, आफ्नो हरेक आर्थिक गतिविधि र समाजिक काम छाडेर उद्योग वाणिज्य महासंघलाई शतप्रतिशत दिएको हुन्छौं ।

त्यही भनेर नै त्यहाँ नेतृत्वहरु आएका हुन्छन् । अहिलेपनि निर्वाचन प्रजातान्त्रिक ढंगबाट हुनुपर्छ भन्दाभन्दैपनि मिल्ने पक्षमा जानुपर्छ भन्ने कुरामा म पनि व्यक्तिगतरुपमा सोच्छु ।

किनभने अहिले कोभिडको बेला पनि छ । अहिले एकअर्कालाई निर्वाचन गरेर हिँड्नु भन्दापनि मेलमिलाप गरेर अगाडि बढ्यो भने ठीक हुन्छ ।

दुईवटा पक्ष जुन हुनुहुन्छ एउटा वरिष्ठ उपाध्यक्षमा उठनु भएको किशोर प्रधान हुनुहुन्छ । जो लामो समयदेखि महासंघमा बस्नुभएको छ । उहाँको पनि अनुभवहरु छ । उहाँ उद्योग वाणिज्य महासंघलाई चाहिने व्यक्ति पनि हो । अर्कोतर्फ चन्द्रप्रसाद ढकाल हुनुहुन्छ । उहाँपनि महासंघलाई चाहिने व्यक्ति हो ।

त्यसकारण दुबै जनालाई मिलाएर एकपछि अर्को गर्न सक्यो भने उहाँहरुका लागि पनि र महासंघको लागि पनि एकजनालाई गुमाउनु भनेको पनि महासंघले एउटा असल उद्यमी जसले उद्योग व्यवसायका लागि लड्न सक्छ ।

उद्योग व्यवसायलाई अझ अगाडि बढाउन सक्छ र नेपाल सरकारसँग समन्वय गरेर काम गर्न सक्छ ।

होइन भने महासंघलाई अगाडि बढाउने शक्ति गुमाउँछ । त्यसले गर्दाखेरी दुबै जनालाई मिलाएर सहमतिको वातावरण बनाएर अगाडि बढ्न सक्यो भने राम्रो हुन्छ ।

तपाईं अध्यक्षको रुपमा के कस्तो पहल गर्नुहुन्छ ?

अध्यक्षको रुपमा मैले दुबै जनालाई एउटा सशक्त उम्मेदवारको रुपमा देख्छु । दुई जना नै महासंघमा अट्नुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ ।

अब निर्वाचनको समय पनि आयो । तिहार सिद्धिएको अवस्था छ । छठपछि एकचोटी दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्छ ।

दुबै उम्मेदवारको सवल पक्षहरु के के देख्नुभएको छ ?

दुबै जनाको पक्ष हेर्दाखेरी दुवैको आ–आफ्नो किसिमको सक्षमता छ । एकजना लामो समयसम्म उद्योग वाणिज्य महासंघमा बस्नुभएको र जिल्ला नगरमा दुईपटक उपाध्यक्षको पदमा कार्य गरिसक्नुभएको छ । उहाँको अनुभव र मेरो कार्यकालमा पनि दुईपटक उपाध्यक्ष भएर कार्यपनि गर्नुभयो । चन्द्रप्रसाद ढकालकोआफ्नै किसिमको महत्व छ । उहाँले पनि मेरो कार्यकालमा उपाध्यक्षको रुपमा एसोसिएट तर्फबाट रोजगारदाता परिषद्को सभापति भएर काम गर्नुभएको छ ।

त्यसकारण उहाँहरुको आफ्नै किसिमको क्षमता, आफ्नै किसिमको योग्यता र आफ्नै किसिमको इमान्दारिता छ । दुबै जनाले महासंघको नेतृत्वमा पुगेर म गर्छु भनेर आफ्नो आफ्नो धारणाहरु लेखिसक्नु भएको छ ।

नेतृत्वमा पुगेपछि गर्ने भनेको महासंघको हकहितको लागि हो, व्यवसायीहरुको हक हितको लागि हो र सरकारसँग सहकार्य गरेर देश विकासका लागि आर्थिक विकासको लागि काम गर्ने हो । दुबै जनालाई सहमति गरेर अगाडि बढ्नका लागि मेरो प्रयास रहनेछ ।

के तपाईंबाट दुबै उम्मेदवारले यहाँबाट बराबरी शुभेक्षा पाएका छन् त ?

मैले उहाँहरु दुबै जनालाई शुभकामना दिएको छु । दुबै जनालाई अहिलेसम्म पनि एकपछि अर्को गरेर मिल्नका लागि आउनुस भनेर आह्वान पनि गरेको छु ।

त्यसैले गर्दा दुबै पक्षले महासंघको हितको लागि त्याग गर्न सक्नुपर्यो । त्यसकारणले एक जनालाई पनि नगुमाउन चाहन्छौं । एकपछि अर्को गरेर गर्नका लागि मेरो फेरि एकचोटी अन्तिम प्रयास रहनेछ ।

सहमति हुने सम्भावना कत्तिको छ ?
मलाई लाग्छ अन्तिम सम्मपनि किन हामी निराश हुने ? । आशावादी हुने ठाउँहरु अझ पनि छन् । एकपटक बसेर कुरा गर्नुपर्छ ।

सामाजिक सञ्जाल र मिडियामा पनि तपाईंमाथि केही प्रश्नहरु उठाइएका छन् । उम्मेदवारी घोषणा गर्दा तपाई एक उम्मेदवारको कार्यक्रममा गइदिनुभयो । नगइदिएको भए अझै राम्रो हुन्थ्यो की ?

दुबै जनाको घोषणा सभामा म गएको छैन । उहाँहरुलाई मिलाउने प्रयासमा म अहिलेपनि लागिरहेको छु । मेरो काम गर्दाखेरीको अनुभव किशोर प्रधानजी सँग र चन्द्र ढकालजी सँगपनि कुरा गरें । ढकालजी पनि महासंघमा चाहिने व्यक्ति हो । त्यसले गर्दाखेरी नेतृत्वको रुपमा मिलाउनका लागि मैले सहमतिको प्रयास गरिरहेकै छु ।

एकातर्फ कोभिडले देशको आर्थिक क्षेत्रमा क्षति पुर्याएको अवस्था छ भने अर्कोतर्फ महासंघमा राजनीति हुँदा काम गर्न झनै गाह्रो भएको होला । के भन्नुहुन्छ ?

कुनैपनि संघसंस्थामा राजनीति त हुन्छ नै । अब उद्योग वाणिज्य महासंघ भनेको एउटा इतिहास बोकेको संघ हो । महासंघमा जिल्लानगरका, वस्तुगतका र एसोसिएटका सदस्यहरु हुनुहुन्छ । त्यसैले त्यहाँभित्र केही न केही राजनीति हुन्छ तरपनि निर्वाचन पश्चात यो गुटबन्दी बन्द गर्नुपर्छ । म महासंघमा हुँदादेखि नै एउटा नेतृत्वको रुपमा, उपाध्यक्षकारुपमा अगाडि बढेदेखि नै मिलाएर लैजानुपर्छ भन्ने मेरो प्रयास सधै भइरहेको छ ।

त्यसकारणले अब आउने नेतृत्वहरुले पनि यसलाई अगाडि बढाउनुहुन्छ भन्नेमा म अलिकति विश्वास राख्छु । अवश्य नै कोभिडले गर्दाखेरी आउने दिनहरु चुनौतिपूर्ण नै छ । त्यसकारणले सबैलाई मिलाएर सबैलाई साथ लिएर नै अगाडि बढ्नुपर्छ । किनभने म नेतृत्वमा बस्दा मैले गर्दा मात्रै कार्यहरु सफल भएको भन्दिन मेरो टिमले गर्दाखेरी भएको हो ।

मेरो वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, मेरा केन्द्रीय साथिहरुले आ(आफ्नो क्षेत्रमा सभापति भएर काम गर्नुभयो, उपाध्यक्षहरुले आ(आफ्नो भूमिका निभाउनुभयो । त्यसले गर्दाखेरी यो कार्यकाललाई सफल बनाउनका लागि उहाँहरुले जुन किसिमको सहयोग गर्नुभएको छ । त्यसकारण टिमवर्कमा नै म विश्वास गर्छु । अब आउने नेतृत्वले पनि टिमलाई नै सँगै लिएर अगाडि बढ्नुहुन्छ होला ।

नेपाल उद्योग वाणिज्य महासंघप्रति जो आबद्ध भएर लाग्नु भएको छ उहाँहरुलाई साधारणसभाको विषयमा केही आह्वान गर्न चाहनुहुन्छ ?

अवश्य नै अहिले पनि म हरेक उपाध्यक्षदेखि लिएर सदस्यहरु, पूर्वअध्यक्षहरु पनि लागिराख्नु भएको छ । सकेसम्म एउटा दुईवटा पदमा सहमति हुन सक्यो भने खासगरी वरिष्ठ पदमा हुन सक्यो भने राम्रो हुन्छ की भन्ने कुराहरुको पक्षमा मलाई लाग्छ ।

आफ्नो आफ्नो तहबाट थुप्रै प्रयास भइरहेको छ । कतिले निर्वाचन नै हुनुपर्छ भन्नेपनि चाहेको होलान र कतिले प्रयासपनि गरिरहेका छन् । अब हुने साधारणसभा पछिको नयाँ नेतृत्वमा गुटवन्दी हुनहुन्न भन्ने छ । मलाई लाग्छ मेरो कार्यकालमा पनि खासै गुटवन्दी थिएन । हामी काममा केन्द्रित भएर अगाडि बढेका थियौं । निर्वाचन पश्चात जसले नेतृत्व लिनुहुन्छ उहाँले टिमलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा छ र बढ्नुहुन्छ भन्नेपनि विश्वास छ ।

प्रतिक्रिया