काठमाडौंमा सौर्य एयरको जहाज दुर्घटना, १८ जनाको निधन

काठमाडौं। काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ।

उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको 'रन वे' पूर्वतर्फको खाल्डोमा खसेको थियो। दुर्घटनामा विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएको अवस्थामा संकलन गरिएको छ। विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए।

विकका अनुसार संकलित शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी भइरहेको छ। विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गर्दा दुर्घटनामा परेको हो। अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ। सौर्य एयरलाइन्सले दिएको विवरण अनुसार जहाजमा रहेका यात्रुहरुको जानकारी उपलब्ध गराइएको छ।

प्रतिक्रिया