काठमाडौं–कोभिड–१९को कारण मुलुकको अर्र्थतन्त्र थला परेसँगै वाणिज्य बैंकको नाफा पनि खुम्चिएको छ । गत चैतदेखि लकडाउनले आर्थिक कारोबार ठप्प भए पछि त्यसको असर बैंकिङ क्षेत्रमा पनि परेको हो । बैंकमा असर परे पछि गत आर्थिक वर्ष ०७६÷७७मा वाणिज्य बैंकको नाफामा ह्रास आएको छ ।
यसले वाणिज्य बैंकहरुले सेयरधनीलाई दिने लाभांश घटेको छ । नाफा घटे पनि बैंकहरु सेयरधनीलाई लाभांश वितरण गर्ने तयारीमा जुटेका छन् । २७ वाणिज्य बैंक मध्ये आधा दर्जनले लाभांश प्रस्ताव गरेका छन् । कतिपय बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृत लिएका छन् भने केही लिने क्रममा रहेका छन् ।
आधा दर्जन बैंकले गत आर्थिक वर्ष ०७६÷७७को अडिट रिपोर्ट तयार गरेका छन् । केहीले लाभांश वितरण गर्ने यकिन गरेर नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति लिएका छन् । राष्ट्र बैंकबाट स्वीकृत लिएपछि साधारण सभाबाट स्वीकृत गरे पनि लाभांश वितरण गर्न पाइने कानुनी व्यवस्था छ । बैंकले साधारण सभाबाट पारित गरेपछि सेयरधनीलाई लाभांश वितरण गर्न मिल्छ ।
ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डु, सानिमा बैंक, माछापुच्छे बैंक, कुमारी बैंकले आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन् ।
एनआईसी एसियाले सेयरधनीहरुलाई २० प्रतिशत, ग्लोबल आईएमई बैंकले १६ प्रतिशत, बैंक अफ काठमाण्डूले १६ प्रतिशत, कुमारी बैंकले १४ प्रतिशत, सानिमा बैंकले १३.६० प्रतिशत, सिटिजन्स बैंकले ११ प्रतिशत, माछापुच्छ्रे बैंकले १०.४० प्रतिशत लाभांश दिने तयारी गरेका छन् । बैंकले लाभांश वितरण गर्न गरिएको प्रस्ताव हो ।
सबैभन्दा बढी लाभांश एनआईसी एसियाले वितरण गर्ने भएको छ । २० प्रतिशत लाभांश मध्ये बैंकले १९ प्रतिशत बोनश सेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । बैंकले बोनस सेयर र नगद लाभांश वितरण गर्ने तयारी गरेका छन् ।