रमेश सेञ्चुरी/काठमाडाैं - बाग्लुङ गैरागाउँ-काठमाडौं बिश्वकर्मा समाजद्वारा शनिबार बृहत वृक्षारोपण अभियानको शुभारम्भ गरिएको छ। समाजले 'एक युवा, पाँच बिरुवा' भन्ने मुल नारासहित यस अभियानको सुरुवात गरेको हो।
यो कार्यक्रम तारकेश्वर नगरपालिका स्थित गोलडुङ्गा भ्यु टावरमा आयोजना गरिएको थियो, जहाँ समाजका अध्यक्ष नारायण बिश्वकर्माको प्रमुख आतिथ्यमा करिब एक सयभन्दा बढी बिरुवा रोपिएको थियो।
वृक्षारोपण अभियानको मुख्य उद्देश्य जलवायु परिवर्तनका असरहरुलाई न्यूनिकरण गर्नु रहेको छ। यस अभियानमा अमला, खयर, अम्बा,साल, धुपी लगायतका विभिन्न प्रजातिका बिरुवाहरु रोपिएका छन्। समाजका महासचिव राम सेन्चुरीका अनुसार, यस वृक्षारोपण अभियानलाई निरन्तरता दिने र बिरुवाहरु हुर्काउने प्रतिबद्धता समाजका उपाध्यक्ष सरोज बिश्वकर्माले व्यक्त गरेका छन्।
कार्यक्रममा बाग्लुङ गैरागाउँ-काठमाडौं बिश्वकर्मा समाजका सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो। समाजले गरेको यो वृक्षारोपण कार्यक्रमले पर्यावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। वृक्षारोपण अभियानको सन्दर्भमा अध्यक्ष नारायण बिश्वकर्माले भने, "यो अभियानले हाम्रो समाजमा हरियाली ल्याउनेछ र पर्यावरणीय सन्तुलन कायम राख्न सहयोग पुर्याउनेछ।"
समाजका अन्य सदस्यहरुले पनि यस अभियानलाई सफल बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। वृक्षारोपण पछि उपस्थित सबै सदस्यहरुले बिरुवाहरुको संरक्षण र स्याहार गर्ने वचनबद्धता जनाएका छन्। यो कार्यक्रम समाजको दीर्घकालीन योजना अन्तर्गत एक महत्वपूर्ण कदम भएको बताइएको छ।