बजेटपछि निरन्तर ओरालो लाग्दै शेयर बजार,मंगलबार पनि ठुलो गिरावट

काठमाडौं । सरकारको निति तथा कार्यक्रमले समेत शेयर बजारको ओरालो यात्रा रोक्न सकेको छैन । सोमबार अर्धसतक हाराहारीमा घटेको बजार आज मंगलबार पनि घटेरै बजार बन्द भएको छ ।  

मंगलबार नेप्से सूचक   ३५।५३ अंकले घटेर २१३७।९२ विन्दुमा अडिएको छ । १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । छोटो समयमै लगानीकर्ताले बजारबाट खरबौं रुपैयाँ गुमाइसकेका छन् । लगानीकर्ताको सम्पति स्वाहा भइरहँदा पनि सरकार र नियामक निकायहरु भने मूकदर्शक बनिरहेका छन् । अहिलेसम्म सुधारका ठोस योजना र कार्यक्रम आउन सकेको छैन । मौद्रिक नीति समीक्षा र बजेटको आशा गरेर बसेका सर्वसाधारण लगानीकर्तालाई यी दुवैले निराश बनाइदिएको छ । 
 
बजेटमा पुँजी बजार विस्तार र सुधारका थुप्रै बुँदाहरु समेटिएका भए पनि तत्काल राहत दिने कुनै ठोस कार्यक्रम आएको छैन । लगानीकर्ताको मनोबल निकै खस्किएको छ । विशेषगरी चुनावपछि वित्तीय प्रणालीमा अपेक्षा अनुसार तरलता सहज नहुनु अनि मौद्रिक नीति र बजेटले तत्काल लगानीकर्तालाई राहत दिने र गिरको मनोबल उकास्ने कार्यक्रम नआउनु नै अहिले बजार थप प्यानिक हुनुको प्रमुख कारणहरु हुन् । 
 
यसरी गिरेको आत्मबल सुधार्न तत्काल राहत पुग्ने कार्यक्रम लगानीकर्ताले खोजिरहेका छन् । तर व्यवहारमा सरोकारवाला कुनै पनि निकायबाट यस्तो कार्यक्रम आउन सकेको छैन । विशेषगरी सेयर धितो कर्जामा ४–१२ करोडको सीमाले बजारलाई प्यानिक हुने अवस्थासम्म ल्याएको हो । यस्तै, निरन्तर चुलिंदो तरलता संकट र चर्को ब्याजदर पनि बजार गिराउने प्रमुख कारणहरुमा परेका छन् ।

प्रतिक्रिया