सांकेतिक तस्बिर
काठमाडौं - बझाङ र जाजरकोटमा पहिरोमा परेर सात जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बझाङको बुंगल नगरपालिका-१०, टुमेडामा अविरल वर्षाका कारण गएको पहिरोले ६२ वर्षीय बिर बहादुर धामीको घर पुरिँदा चार जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृती धामी, र ३ वर्षीया लक्ष्मी धामी रहेका छन्। पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार गर्दा चारै जनाको शव फेला परेको हो।
साथै, घरभित्र रहेका बिर बहादुरसहित ६ जना सामान्य घाइते भएका छन्।यसैगरी, जाजरकोटको नलगाड नगरपालिका-२, डाँडागाउँमा लाल बहादुर परियारको अस्थायी टहरो सोमबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ।
पहिरोमा परेर लाल बहादुर, उनकी श्रीमती ३५ वर्षीया मनिषा बिक र छोरा शुभम परियारको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले उद्धार गर्दा उनीहरूको शव फेला परेको हो। प्रहरीले आवश्यक उद्धार कार्य गर्दै घटनाको अनुसन्धान जारी राखेको छ।