काठमाण्डाै – चालू आर्थिक वर्ष २०८०/८१ सकिन एक हप्ता बाँकी रहँदा सरकारी खाता ३ खर्ब ४ अर्ब रुपैयाँभन्दा धेरैले घाटामा छ। सरकारको आम्दानी कम र खर्च धेरै हुँदा यस्तो स्थिति आएको हो। महालेखा नियन्त्रकको कार्यालयका अनुसार हिजो आइतवारसम्म सरकारले कर, अनुदान, र अन्य शीर्षकमा ९ खर्ब ९४ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको छ, जबकि खर्च भने १२ खर्ब ९८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
आम्दानीभन्दा खर्च बढी हुँदा सरकार कर्मचारीहरूको तलब लगायतका खर्च धान्न ऋण लिइरहेको छ। चालू आर्थिक वर्षको जेठसम्ममा सरकारले ३ खर्ब ७ अर्ब रुपैयाँ आन्तरिक ऋण र ८२ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ।
राजस्वबाट ९ खर्ब ६८ अर्ब रुपैयाँ, अनुदानबाट २ अर्ब ७५ करोड रुपैयाँ, र अन्य श्रोतहरूबाट २३ अर्ब रुपैयाँ आम्दानी भएको छ। खर्चतर्फ ९ खर्ब १५ अर्ब चालू खर्च, १ खर्ब ५३ अर्ब पूँजीगत खर्च, र २ खर्ब २८ अर्ब रुपैयाँ वित्तीय व्यवस्थामा खर्च भएको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू खर्च ८१ प्रतिशत पुगेको छ भने विकास खर्च मात्र ५२ प्रतिशत रहेको छ।