काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका आफ्ना सम्पूर्ण परीक्षा स्थगित गरेको छ।
रसुवा जिल्लाको रसुवागढीस्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढी र प्राकृतिक विपद्बाट उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
त्रिविको कार्यकारी परिषद्को २०८३ भदौ १२ गते बसेको बैठकले परीक्षा नियन्त्रण कार्यालय, बल्खु तथा सम्बन्धित डिन कार्यालयबाट सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनाअनुसार स्थगित परीक्षाको संशोधित तालिका केन्द्रीय परीक्षा सञ्चालक समिति तथा सम्बन्धित अध्ययन संस्थान र सङ्कायअन्तर्गतका परीक्षा सञ्चालक समितिले २०८३ भदौ २० गतेभित्र प्रकाशित गर्नेछन्।
