☰

गोरखामा पहिरोले बूढीगण्डकी थुनिएपछि बाढी, घर र पुलमा क्षति

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले विभिन्न बस्तीका घर तथा झोलुंगे पुलमा क्षति पुर्‍याएको छ। चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा बाढीले घर तथा पुल बगाएको भए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी आकाश कँडेलका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो खसेपछि बूढीगण्डकी नदी थुनिएको थियो। त्यसपछि नदीमा पानीको बहाव बढेर आसपासका क्षेत्रमा बाढी पसेको हो।

बाढीका कारण चुमनुब्री गाउँपालिका–३ स्थित म्याकफेदीका केही होटलमा क्षति पुगेको छ। म्याकफेदी र सिर्दीबास बजार जोड्ने दुईवटा झोलुंगे पुलमध्ये पुरानो पुल बाढीले बगाएको प्रहरीले जनाएको छ।

त्यस्तै, म्याकफेदीमुनि रहेको घट्टेखोलाको आसपासका बस्तीमा पनि बाढी पसेको छ। उक्त क्षेत्रका दुईदेखि तीनवटा घरभित्र पानी पसेको जानकारी प्राप्त भएको कँडेलले बताए।

धार्चे गाउँपालिका–३ को सल्ढेंगेमा एकदेखि दुईवटा घर बगाएको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ। धार्चे गाउँपालिका–५ को माथिल्लो बजारनजिकै नदी किनारमा रहेका केही घरसमेत बाढीले बगाएको विवरण आएको छ। बाढीले केरौंजा जाने झोलुंगे पुल पनि बगाएको प्रहरीले जनाएको छ।

बाढीको सूचना प्राप्त हुनासाथ प्रहरीले बिहान साढे ५ बजेदेखि नै स्थानीयलाई सतर्क गराउन थालेको थियो। सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीयलाई समयमै सुरक्षित स्थानमा जान आग्रह गरिएकाले अहिलेसम्म मानवीय क्षति नभएको कँडेलले बताए।

उनका अनुसार बाढीको जोखिम आरुघाट क्षेत्रसम्म पनि रहेको छ। आरुघाट इलाका प्रहरी कार्यालयमार्फत त्यहाँका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान जानकारी गराइएको छ। आरुघाट ठूलो बजार क्षेत्र भएकाले नदीमा पानीको बहाव बढिरहेमा थप क्षति हुन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ।

यसैबीच, गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी नदीमा पानीको बहाव निरन्तर बढिरहेको बताएका छन्। उनले घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न परिचालन गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

गृहमन्त्री गुरुङका अनुसार उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरसमेत घटनास्थलतर्फ परिचालन गरिएको छ। उनले नदी किनारका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय