हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने


काठमाडौं–हिमालयन बैंकको संचालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ । आइतबार बसेको हिमालयन बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जानको लाग गत बैशाख ३० गते समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको थियो । तर, मर्जर पक्रिया चलिरहेको समयमा हिमालयन बैंकको संचालक समिति अध्यक्ष तुलसी गौमत हटेर प्रचण्डबहादुर श्रेष्ठ आएपछि मर्जर प्रक्रियाले गति लिन सकेको थिएन ।


आइतबार (हिजो) बसेको हिमालयन बैंकको संचालक समिति बैठकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिए । हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जाने भनिएपनि यो प्रक्रियाले लामो समय लिएको छ । हिमालयन बैंकले मर्जरमा जानको लागि निर्णय गर्न ढिलाई गर्दा राष्ट्र बैंकले २ पटक म्याद समेत थपेको छ । राष्ट्र बैंकले दोस्रो पटक थप गरेको म्याद भित्रै मर्जरको काम सक्ने गरी प्रक्रिया अघि बढाउन हिमालयन बैंक संचालक समिति तयार भएको हो ।


बैठकले यसअघि देखिएका सानातिना समस्या र प्रश्नको समाधान गरी मर्जरमा जाने निर्णय गरेको संचालक शर्माले बताए । हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले मर्जर र एक्वीजीसनमा लाग्ने करका विषयमा महालेखा परीक्षकको कार्यालय प्रश्न उठाएको र सेही प्रश्नका कारण मर्जरमा जाँदा समस्या हुन्छ कि भन्ने संसय थियो ।


अब आगामी विहीबार हिमालयन बैंकको संचालक समितिको अर्काे बैठक बस्ने र सो बैठकले साधारणसभाको मिति तोक्नेछ । नेपाल इन्भेष्टमेन्ट बैंकले साधारणसभा गरिसकेकोले मर्जरको निर्णयका लागि विशेष साधारणसभा बोलाउनु पर्नेछ भने हिमालयन बैंकले नियमित साधारणसभामा नै सो प्रस्ताव लानेछ ।


हिमालयन र इन्भेष्टमेन्ट बैंकका बीच समान हैसियत (१ बराबर १ कित्ता) सेयर अनुपातका आधारमा मर्जर हुनेछ । बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भइसकेको छ भने बैंक संचालक समिति अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा रहने सहमति यसअघि नै भइसकेको छ ।
 

प्रतिक्रिया